कतारमा विमान यात्रा गर्दा पावर बैंक बोक्ने नियम परिवर्तन, नयाँ सुरक्षा मापदण्ड लागू
आशिक हुसैन शेख दोहा, जुन १८— कतार नागरिक उड्डयन प्राधिकरण (QCAA) ले विमान यात्राका क्रममा पावर बैंक बोक्ने सम्बन्धी नयाँ सुरक्षा नियम लागू गरेको छ। लिथियम ब्याट्रीबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले यात्रुहरूका लागि कडा मापदण्ड सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार प्रत्येक यात्रुले अधिकतम दुईवटा पावर बैंक मात्र साथमा बोक्न पाउनेछन्। साथै, प्रत्येक पावर बैंकको क्षमता १०० वाट-घण्टा (Wh) भन्दा बढी हुन नहुने उल्लेख गरिएको छ।
QCAA का अनुसार पावर बैंक अनिवार्य रूपमा ह्यान्ड क्यारी वा केबिन ब्यागेजमै राख्नुपर्नेछ। चेक-इन लगेज (कार्गो सामान) मा पावर बैंक राख्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यस्तै, उडानको अवधिभर पावर बैंक प्रयोग गरी कुनै पनि उपकरण चार्ज गर्न वा पावर बैंक आफैं चार्ज गर्न अनुमति नहुने स्पष्ट गरिएको छ।
प्राधिकरणले पावर बैंकका टर्मिनलहरू सुरक्षित रूपमा ढाकेर वा संरक्षित राख्न यात्रुहरूलाई आग्रह गरेको छ, ताकि सर्ट सर्किट तथा आगलागीजस्ता दुर्घटनाको जोखिम न्यून गर्न सकियोस्। साथै, पावर बैंकलाई जहाजको ओभरहेड बिन वा अन्य बन्द स्थानमा नराखी यात्रुको पहुँचमा रहने स्थानमा राख्नुपर्ने व्यवस्था गरिएको छ। यसले आपतकालीन अवस्था उत्पन्न भएमा विमानका कर्मचारीलाई तत्काल आवश्यक कदम चाल्न सहज हुने बताइएको छ।
कतार नागरिक उड्डयन प्राधिकरणका अनुसार यी नियमहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) तथा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (IATA) का नवीनतम सुरक्षा मापदण्ड अनुरूप लागू गरिएको हो।
यात्रुहरूलाई यात्रा अघि आफूले प्रयोग गर्ने एयरलाइन्सका अतिरिक्त सुरक्षा निर्देशिका र नियमहरू पनि अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ। प्राधिकरणले खतरनाक सामग्री सम्बन्धी नियम उल्लङ्घन गर्ने वा विमानका कर्मचारीको निर्देशन अवज्ञा गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही हुन सक्ने चेतावनी समेत दिएको छ।
हवाई यात्राको सुरक्षा सुनिश्चित गर्न लागू गरिएको यो नयाँ व्यवस्था कतारबाट यात्रा गर्ने तथा कतार हुँदै ट्रान्जिट गर्ने सबै यात्रुहरूका लागि प्रभावकारी हुने जनाइएको छ।

