आरपी रद्द भएपछि १४ दिनमै कतार छाड्नुपर्ने, नियम उल्लंघन गरे जरिवाना
आशिक हुसैन शेख दोहा । कतार सरकारले आवासीय अनुमति (Residence Permit–RP) कतारी आईडी रद्द भएका विदेशी नागरिकहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब आरपी रद्द भएपछि सम्बन्धित व्यक्तिले १४ दिनभित्र कतार छाड्नुपर्नेछ। यसअघि आरपी रद्द भएपछि ३० दिनसम्म कतारमा बस्न र देश छाड्ने प्रक्रिया पूरा गर्न समय दिइने व्यवस्था थियो। तर हाल उक्त अवधि घटाएर १४ दिनमा सीमित गरिएको छ।
कतारको गृह मन्त्रालयअन्तर्गत एयरपोर्ट पासपोर्ट विभागका अधिकारी क्याप्टेन अली अहमद अली अल-कुवारीले ‘सेफ ट्राभल्स’ विषयक वेबिनारमा बोल्दै नयाँ व्यवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार आरपी रद्द भइसकेपछि तोकिएको १४ दिनको अवधि नाघेर कतारमा बसोबास गर्ने व्यक्तिलाई प्रतिदिन १० कतारी रियालका दरले जरिवाना लाग्नेछ।
यसअघि ३० दिनको समयावधिले रोजगारदाता परिवर्तन, अन्तिम सेटलमेन्ट, बैंकिङ प्रक्रिया तथा स्वदेश फर्किने तयारीका लागि सहजता प्रदान गर्दै आएको थियो। तर नयाँ नियम लागू भएसँगै आरपी रद्द हुनेबित्तिकै सम्बन्धित व्यक्तिले आफ्नो यात्रा र कानुनी प्रक्रिया छिट्टै पूरा गर्नुपर्ने भएको छ।
अधिकारीहरूले भ्रमण भिसा (Visit Visa) मा कतार आएका व्यक्तिहरूलाई पनि आफ्नो भिसाको म्यादबारे विशेष सचेत रहन आग्रह गरेका छन्। भिसाको अवधि समाप्त भएपछि पनि देशमा बसिरहेमा प्रतिदिन २०० कतारी रियालसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ।
यात्रा गर्नुअघि मेट्राश (Metrash) एपमार्फत ट्राफिक जरिवाना, ओभरस्टे फाइन तथा अन्य बाँकी शुल्क भए–नभएको जाँच गरी सबै भुक्तानी गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ। साथै, यात्रुहरूलाई विमानस्थलमा समय बचत गर्न र सहज सेवा प्राप्त गर्न ई–गेट (e-Gate) प्रणालीको प्रयोग गर्न सुझाव दिइएको छ।
कतारमा कार्यरत नेपालीसहित लाखौं विदेशी श्रमिकलाई प्रत्यक्ष असर पार्ने यो व्यवस्थाले आरपी रद्द भएका व्यक्तिहरूलाई समयमै कानुनी प्रक्रिया पूरा गरी देश छाड्न थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। गृह मन्त्रालयले सबै विदेशी नागरिकलाई आफ्नो भिसा तथा आवासीय अनुमतिको अवस्था नियमित रूपमा जाँच गर्न र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
Gulf Times
