काभ्रेपलाञ्चोक सेवा समाज कतारको सांस्कृतिक तथा भेटघाट कार्यक्रम जुन १२ मा।
आशिक हुसैन शेख दोहा, कतार।
“प्रवासी काभ्रेली एक हौँ, कतारमा काभ्रेली कहीँ कतै नछुटौँ” भन्ने मूल नाराका साथ स्थापना भएको काभ्रेपलाञ्चोक सेवा समाज कतारले आगामी १२ जुन २०२६ मा आयोजना गर्न लागेको सांस्कृतिक तथा भेटघाट कार्यक्रम–२०२६ लाई भव्य र ऐतिहासिक बनाउने तयारीलाई तीव्र बनाएको छ।
कार्यक्रम सनैया प्लाजा मलस्थित सिनेमा नम्बर–३ नजिक मा रहेको जम्नु थकाली रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा कतारमा रहेका काभ्रेपलाञ्चोकवासी तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
काभ्रेपलाञ्चोक सेवा समाज कतारले प्रवासमा रहेका काभ्रेलीहरूबीच आपसी सद्भाव, एकता, सहयोग र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा जिल्लाको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्परालाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको विशेष प्रस्तुति समेत आकर्षणको केन्द्र बन्ने जनाइएको छ।
समाजका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, प्रमुख सल्लाहकार, विशेष सल्लाहकार, सल्लाहकारहरू तथा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूको सक्रिय समन्वयमा कार्यक्रमको तयारी भइरहेको छ। यसैक्रममा समाजका अग्रज अभियन्ता रामहरी चौलागाईं ले कतारमा रहेका सम्पूर्ण काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा काभ्रेली समुदायको एकता, पहिचान र भाइचारालाई थप मजबुत बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै सबैबाट आर्थिक, नैतिक तथा भौतिक सहयोगको अपेक्षा गरिएको बताएका छन्। साथै कार्यक्रमलाई काभ्रेपलाञ्चोक जिल्लाको गौरव र प्रवासी काभ्रेलीहरूको साझा उत्सवका रूपमा सफल बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरेका छन्।
प्रवासमा रहेर पनि आफ्नो जन्मथलो, संस्कृति र पहिचानलाई जीवित राख्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्र, कला, संस्कृति तथा पर्यटकीय सम्भावनालाई समेत प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।
“जय काभ्रे, जय काभ्रेली” भन्ने नारासहित सम्पूर्ण काभ्रेली समुदायलाई कार्यक्रममा उपस्थित भई एकताको सन्देश प्रवाह गर्न आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।
