दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा भएको भीषण आगलागी २१ जनाको मृत्यु

महोत्तरी टुडे     

नयाँ दिल्ली- दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ।

बुधबार बिहान करिब ८:५० बजे “लेमन ग्रिन” नामक रेस्टुरेन्टमा आगो लागेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ। घटनामा मृत्यु हुनेमध्ये मध्य एसिया र अफ्रिकाका नागरिक पनि रहेको बताइएको छ, यद्यपि सबैको पहिचान भने अझै पुष्टि भइसकेको छैन।

 

दिल्ली अग्नि सेवा र स्थानीयवासीका अनुसार आगो सुरुमा रेस्टुरेन्टमा लागेको थियो र पछि माथिल्लो तल्लामा रहेको होटल फ्लोरिससम्म फैलिएको थियो। आगलागीपछि बेसमेन्टबाट ६ जनाभन्दा बढीलाई उद्धार गरिएको छ।

 

प्रत्यक्षदर्शीले सार्वजनिक गरेका भिडियोहरूमा केही मानिस ज्यान जोगाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ। उद्धारका क्रममा स्थानीयहरूले जमिनमा गद्दा राखेर सहयोग गरेको पनि जनाइएको छ।

 

हालसम्म ३७ जनालाई उद्धार गरिएको छ, जसमा धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।