रोजगारीको नाममा ठगी: भारतबाट ४५३ नेपाली नागरिक उद्धार, १९ नियन्त्रणमा
नयाँ दिल्ली, जेठ १९ — भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीले सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकहरूको श्रम शोषण तथा ठगी भइरहेको घटनामा ठूलो उद्धार अभियान सफल भएको जनाएको छ।
राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्राप्त सूचनाका आधारमा भारत सरकारका सम्बन्धित निकाय, उत्तर प्रदेश प्रहरी तथा गैरसरकारी संस्था KIN India सँग समन्वय गरी उद्धार कार्य सञ्चालन गरिएको थियो।
उक्त अभियानअन्तर्गत उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीबाट सामाजिक सञ्जालमार्फत हुने ‘नेटवर्किङ फ्रड’ मा फसेका ४५३ नेपाली नागरिक उद्धार गरिएको जनाइएको छ। उद्धार गरिएकामध्ये ११५ जना महिला र ३३८ जना पुरुष रहेका छन्। उनीहरूलाई २०८३ जेठ १६ गते उद्धार गरी जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको थियो।
यस घटनामा संलग्न रहेको आशंकामा ६ जना महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको राजदूतावासले जनाएको छ।
राजदूतावासले उद्धार कार्य सफल बनाउन सहयोग गर्ने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, KIN India लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण निकायप्रति आभार व्यक्त गरेको छ।
साथै, नेपाल सरकार तथा भारतस्थित नेपाली राजदूतावास नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा अन्य आकर्षक अवसरको नाममा गरिने विभिन्न प्रकारका प्रलोभन र ठगीबाट सतर्क रहन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।
विशेषज्ञहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत उच्च तलब, सहज रोजगारी र आकर्षक सुविधा दिने आश्वासन देखाएर नेपाली युवाहरूलाई ठगी गर्ने गिरोह सक्रिय बन्दै गइरहेका छन्। त्यसैले कुनै पनि रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि सम्बन्धित निकायबाट जानकारी लिन र आवश्यक प्रमाणिकरण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
नेपाली राजदूतावासले नागरिकलाई सचेत रहन, शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन तथा वैदेशिक रोजगारीका अवसरहरूबारे आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ।

