नेपाल मगर संघ, शाखा कतारद्वारा संयुक्त मध्यावधि भेला २०२६ आयोजना हुने
आशिक हुसैन शेख दोहा, कतार ।
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेका सम्पूर्ण विभाग तथा एरिया समितिहरुको संयुक्त आयोजनामा “संयुक्त मध्यावधि भेला २०२६” कार्यक्रम आयोजना हुने भएको छ। नेपाल मगर संघ, शाखा कतारको संयोजनमा हुन लागेको उक्त कार्यक्रम आगामी २०२६ मे २९ तारिख शुक्रबार बिहान १०:०० बजेदेखि सनैया प्लाजा मल स्थित जिम्बू थकाली रेस्टुरेण्टको सभाहलमा सम्पन्न हुने आयोजकले जनाएको छ।
कतारमा रहेका मगर समुदायबीच आपसी एकता, सहकार्य, भाइचारा तथा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, विभिन्न विभाग तथा एरिया समितिका प्रतिनिधिहरू, कलाकारहरू, बुद्धिजीवीहरू, समाजसेवीहरू तथा कतारमा कार्यरत सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
भेलामा संगठनको वर्तमान गतिविधि, आगामी कार्ययोजना, विभागीय प्रतिवेदन, एरिया समितिहरुको समीक्षा, संगठन विस्तार, समुदायिक हित तथा कतारमा रहेका मगर समुदायका विविध विषयमा व्यापक छलफल गरिने जनाइएको छ। साथै, नयाँ योजना निर्माण, आपसी समन्वय अभिवृद्धि तथा संस्थालाई अझ सशक्त र व्यवस्थित बनाउने विषयमा विशेष निर्णयहरू समेत गरिने तयारी रहेको आयोजकले जनाएको छ।
नेपाल मगर संघ, शाखा कतारले लामो समयदेखि कतारमा रहेका मगर समुदायको हकहित, भाषा, कला, संस्कृति तथा पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस प्रकारका कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध प्रगाढ बनाउन तथा नयाँ पुस्तामा संगठनप्रति जिम्मेवारी र अपनत्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
नेपाल मगर संघ, शाखा कतारले कतारमा रहनु भएका सम्पूर्ण मगर समुदायलाई कार्यक्रममा समयमै उपस्थित भई कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।
कार्यक्रमको विवरण :
मिति : २०२६ मे २९, शुक्रबार
समय : बिहान १०:०० बजेबाट
स्थान : जिम्बू थकाली रेस्टुरेण्टको सभाहल, सनैया प्लाजा मल ३ नम्बर सिनेमा हल नजिक
महासचिव : पाण्डप थापा मगर
नेपाल मगर संघ, शाखा कतार
(सूचना, प्रचारप्रसार तथा जनसम्पर्क विभाग)
