गल्फ रेल परियोजना ५०% सम्पन्न, २०३० डिसेम्बर सम्म पुर्ण सञ्चालनको लक्ष्य
आशिक हुसैन शेख- गल्फ सहयोग परिषद् (GCC) का छ सदस्य राष्ट्रहरूलाई जोड्ने ऐतिहासिक गल्फ रेल परियोजनाले हालसम्म करिब ५० प्रतिशत प्रगति हासिल गरेको छ। GCC रेल प्राधिकरणका निर्देशक मोहम्मद अल शेब्रामीका अनुसार १,७०० किलोमिटर लामो यो क्षेत्रीय रेल सञ्जालको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
यो महत्वाकांक्षी परियोजना पूरा भएपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, बहराइन र ओमानबीच प्रत्यक्ष रेलमार्ग सञ्जाल स्थापना हुनेछ। यसले यात्रु तथा मालसामान ढुवानीलाई छिटो, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।
अधिकारिहरूका अनुसार गल्फ रेल परियोजना २०३० डिसेम्बरसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस परियोजनाले गल्फ क्षेत्रको आर्थिक एकीकरण, व्यापार विस्तार र क्षेत्रीय सम्पर्कलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
विशेषज्ञहरूले यो परियोजनालाई मध्यपूर्वकै सबैभन्दा ठूलो र रणनीतिक पूर्वाधार परियोजनामध्ये एकको रूपमा लिएका छन्, जसले भविष्यमा क्षेत्रीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
