दोहामा सप्तरी सेवा समाजको प्रथम अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा,कतार२४ सेप्टेम्बर- प्रवासी नेपालीहरूको साझा संस्था सप्तरी सेवा समाज, कतारले आफ्नो प्रथम अधिवेशन तथा सम्मान–शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमको उद्देश्य प्रवासी नेपालीबीच आपसी सद्भाव, भाइचारा र सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउनु मात्र नभई मधेशी पहिचान र नेपाली सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्नु पनि रहेको समाजले जनाएको छ।

 

“युवा नेतृत्व, सभ्य सोच, विकसित समाज, सप्तरीको लक्ष्य” भन्ने मूल नाराका साथ २०२४ मा स्थापना भएको यो समाजले आगामी २६ सेप्टेम्बर २०२५, शुक्रबार,  दोहास्थित गोखली रेष्टुरेन्टको सभा हलमा, मुन्ताजा पार्क नजिकैमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ।

 

सप्तरी सेवा समाज कतारका संयोजक अन्वारुलले जनाएको छ कि अधिवेशनमा कतारस्थित विभिन्न सामाजिक संघ–संस्था, समुदायका अगुवा, बुद्धिजीवी, श्रमिक तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता रहनेछ। यस अधिवेशनमार्फत समाजले आगामी कार्ययोजना तय गर्ने, आपसी एकता र सहकार्यलाई सुदृढ गर्ने तथा समाजमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गर्ने उद्देश्य राखेको छ।

 

समाजका पदाधिकारीहरूका अनुसार, यस कार्यक्रममा प्रवासी मधेशी समुदायको पहिचान उजागर गर्ने, सशक्त नेतृत्व विकास र सामाजिक सेवा प्रवर्द्धनमा जोड दिइनेछ। साथै, नेपालीहरूको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेर प्रवासी नेपालीबीचको सद्भाव र भाइचारालाई अझ मजबुत बनाउने कार्यसमेत हुनेछ।

 

कार्यक्रमका संयोजक अन्वारुल हक ले महोत्तरी टुडे डटकम लाई जानकारी दिँदै बताए कि यो कार्यक्रमले मधेशी युवाहरूलाई नेतृत्व विकासमा प्रेरित गर्ने, सामाजिक एकता प्रवर्द्धन गर्ने र सप्तरी जिल्लाको सांस्कृतिक तथा सामाजिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।

 

सप्तरी सेवा समाजले सबै नेपाली समुदाय, विशेष गरी कतारमा रहेका प्रवासी मधेशी र सप्तरीवासीहरूलाई यस कार्यक्रममा सहभागिता जनाउन हार्दिक आग्रह गरेको छ। समाजले बताएको छ कि सहभागीहरूले आफ्नो अनुभव, सल्लाह र सुझावमार्फत समाजको आगामी कार्ययोजना निर्माणमा प्रत्यक्ष योगदान गर्न सक्नेछन्।

 

सप्तरी सेवा समाज, कतारका संयोजकका अनुसार, आगामी दिनहरूमा यस प्रकारका कार्यक्रमहरूले प्रवासी नेपालीबीचको नेटवर्क सुदृढ गर्ने, सामाजिक जिम्मेवारीमा सहभागीता बढाउने र नेपाली–मधेशी पहिचानलाई प्रवर्द्धन गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन्।