श्रममन्त्रीको बलियो दाबेदार प्रोफेसर डा. रमजान अलि मियाँ

महोत्तरी टुडे     

काठमाडौं। श्रम मन्त्रालयको नेतृत्वका लागि मुस्लिम समुदायबाट प्रा. डा. मोहम्मद रमजान अली मियाँको नाम जोडदार रूपमा अघि सारिएको छ। हाल मन्त्रिपरिषद्मा मुस्लिम समुदायको प्रतिनिधित्व नहुँदा मियाँलाई मन्त्री बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ।

 

श्रमिक अधिकारका आवाज

 

सन् २००७ यता कतारलाई कर्मथलो बनाएर बस्दै आएका मियाँ लामो समयदेखि श्रमिक अधिकार र मानवअधिकारका क्षेत्रमा सक्रिय छन्। उनले नेपाली मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली श्रमिक समुदायबीच विश्वसनीय छवि बनाएका छन्। कतारमा मानवअधिकार र श्रमिक अधिकारका मुद्दामा अग्रसर उनी हाल राष्ट्रिय मानव अधिकार समिति कतारसँग आवद्ध छन्।

 

बहुआयामिक व्यक्तित्व

 

काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरेका छन्। अरबी, नेपाली, उर्दू र हिन्दीमा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरेका उनले फारसी, मलेसियन, पस्तु र अंग्रेजी भाषामा समेत दक्षता हासिल गरेका छन्। लेखक, अनुवादक, कानुनी परामर्शदाता र समाजसेवीका रूपमा उनी बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्।

 

विपद् र संकटमा योगदान

 

२०७२ को महाभूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए। कोरोना महामारीताका पनि उनले कतार सरकारमार्फत नेपाललाई ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग गराउन महत्वपूर्ण भूमिका खेले। कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत नेपालमा आएका सहयोगसमेत उनको पहलमा सम्भव भएका हुन्।

 

कतारी अमिरलगायत उच्च पदस्थ व्यक्तित्वको नेपाल भ्रमण सम्भव गराउन पनि उनको सक्रिय भूमिका रहेको छ।

 

अन्तर्राष्ट्रिय सम्मान

 

उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमै सम्मान गरिएको छ। हालै भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले उनलाई अरबी साहित्य तथा समाजसेवा सम्मान प्रदान गरेको थियो। यसरी यस्तो सम्मान पाउने उनी पहिलो नेपाली बनेका छन्। अन्तर्राष्ट्रिय मानवअधिकार संगठनले पनि उनलाई उच्च सम्मान प्रदान गरेको छ।

 

मन्त्री बन्ने सम्भावना

 

वैदेशिक रोजगारी क्षेत्रमा लामो अनुभव संगालेका मियाँ मन्त्री बने श्रम नीतिमा आमूल परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ। हाल श्रममन्त्रीका लागि मियासहित अन्य तीन व्यक्तिको नाम सिफारिस भएको भए पनि मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्ने तर्कले उनको सम्भावना उच्च देखिएको छ।

 

एनआरएनए कतारका सल्लाहकारसमेत रहेका मियालाई मन्त्री बनाउन एनआरएनएले पनि सिफारिस गरेको छ। समुदायभित्र मात्रै नभई वैदेशिक रोजगार विज्ञहरू समेत उनको नामलाई समर्थन गरिरहेका छन्।