मगरथाना प्रहरी चौकीमा फर्किएका सुरक्षाकर्मीलाई फूलमालासहित स्वागत

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव-महोत्तरी ।

नेपालमा पछिल्ला दिनमा सिर्जना भएको विषम परिस्थिति र सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै केही समयका लागि मगरथाना प्रहरी चौकीबाट सरुवा भएका प्रहरीहरू आइतबार पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। उनीहरूलाई सोनमा गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादव, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणले फूलमाला, अबिर र खादा लगाएर आत्मीय स्वागत गरेका हुन्।

FB_IMG_1757842920085.jpg

स्वागत समारोहमा गाउँका समाजसेवी, बुद्धिजीवी, बृद्ध–जेष्ठ नागरिक, महिला, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागीता रहेको थियो।

FB_IMG_1757843093094.jpg

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै भने,

“प्रहरीको फर्काइले गाउँपालिकामा सुरक्षाको भावना बलियो बनेको छ। अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि प्रहरी अपरिहार्य छन्।”

 

FB_IMG_1757843078132.jpg

त्यस्तै, मगरथाना प्रहरी चौकी प्रमुख दिपेन्द्र कुमार यादवले चौकी चारैतिर पर्खाल नहुँदा सुरक्षा चुनौती बढिरहेको भन्दै गाउँपालिका अध्यक्षसँग पर्खाल निर्माण तत्काल गर्न माग गरे।

 

 

उनको मागप्रति प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले भने,

 

“मगरथाना प्रहरी चौकीको चारैतिर पर्खाल निर्माणका लागि गाउँपालिकाले रकम विनियोजन गरिसकेको छ। निर्माण कार्य यसै आर्थिक वर्षमै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।”

FB_IMG_1757843102655.jpg

 

कार्यक्रममा सहभागी बनेका इलाका प्रहरी चौकी खैरबनीका इन्चार्ज रबिन्द्र मिश्रले स्थानीयलाई सम्बोधन गर्दै भने,

 

“सुरक्षा भन्ने कुरा प्रहरी मात्रको जिम्मेवारी होइन, प्रहरी र नागरिक दुवैको सहकार्यबाट मात्रै सम्भव हुन्छ। चौकी पुनः सक्रिय भएपछि यस क्षेत्रमा शान्ति–सुरक्षा थप मजबुत हुनेछ।”

 

 

स्थानीय बासिन्दाहरूले पनि चौकी पर्खाल निर्माणलाई समर्थन गर्दै यसलाई तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए।

 

 

स्वागतपछि भएको छलफलमा सुरक्षासम्बन्धी समस्याहरू, गाउँमा देखा पर्ने सामाजिक विकृति–विसंगति नियन्त्रण गर्ने उपाय तथा आपसी सहकार्यमा आधारित कदमबारे विस्तृत छलफल गरिएको थियो।

 

 

सोनमा गाउँपालिकाको मगरथाना क्षेत्रमा प्रहरी चौकी पुनः सक्रिय बनेसँगै यहाँका नागरिकहरूले शान्ति–सुरक्षा तथा स्थायित्वको अनुभूति गर्ने अपेक्षा गरेका छन्।