गौशाला बजारमा चोरीको बढ्दो लहर सम्बन्धित निकायहरू मौन

महोत्तरी टुडे     

नरेन्द्र महतो – गौशाला महोत्तरी

महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र मानिने गौशाला बजार पछिल्ला दिनमा चोरीको घटनाले अशान्त हुँदै गएको छ। यहाँका व्यापारीहरू दिनदिनै आफुलाई असुरक्षित महसुस गर्दै आएका छन्।

 

शनिबार राति, बजारको बीचमा रहेको प्रसिद्ध आलु व्यापारी राम पुकार साह को पसलमा झ्याल फोरेर करिब २५–३० हजार रुपैयाँ नगद चोरी भएको पुष्टि भएको छ। साहले बताए अनुसार, ४० वर्षदेखि व्यवसाय गर्दै आए पनि यस्ता चोरी पहिले कहिल्यै भएको थिएन।

 

उक्त घटनापछि साहले प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै भने,

"हरेक महिनामा चोरी भइरहँदा पनि प्रहरीले कुनै ठोस कदम चालेको छैन। यदि इलाका प्रहरी कार्यालय गौशालाले इमानदारीपूर्वक ड्युटी गरेको भए पटक–पटक चोरी हुने थिएन होला।"

 

उनका अनुसार प्रहरी आएर सबै विवरण टिपेर लगे पनि

"पैसा भेटिन्छ कि भेटिन्न, चोर पक्राउ पर्छ कि पर्दैन भन्नेमा पनि अनिश्चितता छ। किनभने अहिलेसम्म अघिल्ला चोरहरू पनि फेला परेका छैनन्," साहको गुनासो थियो।

 

प्रहरीको प्राथमिकता सुरक्षाभन्दा तस्कर?

 

स्थानीय राजनीतिक कार्यकर्ता तथा नेता रिझन महतोले भने,

"प्रहरीले बजारमा नियमित ड्युटी गर्नुको सट्टा तस्करहरूका पछि लागिरहेका छन्, जसका कारण चोरी नियन्त्रणमा चुनौती भइरहेको छ। गौशालामा प्रहरी छ भन्ने नै महसुस हुँदैन।"

 

उद्योग वाणिज्य संघमाथि पनि गम्भीर आरोप

 

उद्योग वाणिज्य संघ, गौशाला व्यापार व्यवसायको साझा संस्था भए पनि व्यापारीहरूले यसलाई निजी कम्पनीजस्तै व्यवहार गरेको आरोप लगाएका छन्।

विधान अनुसार नियमित निर्वाचन हुनुपर्नेमा आजसम्म संघले चुनावसमेत नगरेको र व्यापारीहरूको हकहितमा उत्तरदायी नभएको आलोचना गरिएको छ।

राजनीतिक दबाबबिना सुधार सम्भव छैन

"नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल र उद्योग वाणिज्य संघले प्रहरी प्रशासनमाथि दबाब सिर्जना गरे मात्र बजारमा चोरी नियन्त्रण सम्भव हुनेछ।

गौशाला बजारमा चोरीको बढ्दो श्रृंखलाले व्यापारीहरूको मनोबल घटाइरहेको छ। यदि सम्बन्धित निकायहरू अझै समयमै जागरुक भएनन् भने स्थिति थप गम्भीर बन्ने खतरा छ।