पत्रकार यादवलाई धम्की दिनेहरूलाई कारबाही गर्न समाजवादी प्रेस संगठन नेपालको माग

महोत्तरी टुडे     

जनकपुरधाम, साउन ५ –

समाजवादी प्रेस संगठन नेपालले संगठनका मधेश प्रदेश समिति कोषाध्यक्ष तथा प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि दुव्र्यवहार र ज्यान मार्ने धम्की दिने व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

 

संगठनका महासचिव रोहित दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार यादवलाई दिएको धम्की प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन भएको उल्लेख छ।

 

विज्ञप्ति अनुसार, सिरहा जिल्लास्थित विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट वितरण गरिएको विषयमा समाचार प्रकाशन गरेपछि, २०८२ साल साउन १ गते राति करिब ९ बजे स्थानीय सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालबिहारी यादवले फोनमार्फत पत्रकार यादवमाथि अश्लील गालीगलौज गर्दै ज्यान लिने धम्की दिएका थिए।

 

“समाचारप्रति असहमति भए कानुनी बाटो रोज्न सकिने अवस्था हुँदाहुँदै धम्की दिनु प्रेस स्वतन्त्रतामाथि प्रहार हो,” प्रेस संगठनले जनाएको छ, “यस्ता घटना दोहोरिन नदिन तथा दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्दछौं।”

 

संगठनले प्रशासनसँग पत्रकार यादवको सुरक्षा सुनिश्चित गर्न माग गर्दै चेतावनी पनि दिएको छ कि, "यदि घटनामा संलग्नहरूलाई समयमै कारबाही नगरिए आन्दोलनका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं।"