Breaking Good News: नेपाल ACC एशियन पुरूष यु १६ कपको फाइनलमा प्रवेश!

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क: क्रिकेटप्रेमी नेपालीका लागि खुसीको खबर! नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै ACC एशियन पुरूष यु १६ कपको फाइनलमा प्रवेश गरेको छ।

 

नेपाली युवा क्रिकेट टोली मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

 

ओपनर परिमार्जन यादवको उत्कृष्ट अर्धशतकमा मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पक्का गरेको हो। 

 

पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा १ विकेट मात्र गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनर परिमार्जन यादवले शानदार अर्धशतक प्रहार गरे। ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रन बनाए। 

 

तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले पनि पाँच चौका प्रहार गर्दै अविजित २३ रन बनाए। त्यसअघि ओपनर प्रशिद्ध जैशी १६ बल खेल्दै मात्र दुई रनमा आउट भएका थिए। 

 

बलिङमा मलेसियाका लागि नागिश्वरण सथकुमारनले १ विकेट लिए। त्यसअघि टस हार्दै मेलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनाएको थियो। 

 

समूह ‘ए’को विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो। मलेसिया भने समूह ‘बी’बाट उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको थियो।

 

मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए। ७१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे। यस्तै दीज पात्रोले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।

 

नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए। १० ओभरमा उनले १५ रन खर्चिए। यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए। कप्तान विपिनप्रशाद शर्मा र सचिन भट्टले एक/एक विकेट लिए। 

 

अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।