गरिमा चौधरी हत्या प्रकरणमा नाबालकको भिडियो सार्वजनिक, प्रहरी अनुसन्धानमाथि प्रश्न
सिमरा । गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका १६ वर्षीय नाबालकसँग चिकित्सकले परामर्श गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको प्रक्रिया र नाबालकको गोपनीयतामाथि प्रश्न उठेको छ।
शव भेटिएकै दिन पक्राउ परेका नाबालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो। भिडियो कलैया प्रादेशिक अस्पतालस्थित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा स्वास्थ्य जाँच तथा परामर्शका क्रममा खिचिएको बताइएको छ।
संवेदनशील स्वास्थ्य कक्षभित्र खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नाबालकको गोपनीयता र अनुसन्धानको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ। विशेषगरी नाबालक आरोपितको पहिचान खुल्ने तस्बिर तथा भिडियो सार्वजनिक गर्नु कानुनी र मानवीय दृष्टिले समेत संवेदनशील विषय हो।
घटनामा नागरिकस्तरबाट दोषीमाथि प्रचलित कानुनअनुसार कडा कारबाहीको माग भइरहेको छ। तर अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिसँग प्रहरी कर्मचारीले मोबाइलबाट भिडियो खिच्दै प्रश्न गरेको दृश्य सार्वजनिक हुनु र त्यस्तो सामग्री सामाजिक सञ्जालमा फैलिनुले प्रहरीको व्यावसायिक आचरणबारे प्रश्न उठाएको छ।
अपराध अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी भए पनि अनुसन्धानका क्रममा अपनाउनुपर्ने गोपनीयता, मर्यादा र कानुनी प्रक्रियाको पालना गर्नु उत्तिकै आवश्यक हुन्छ। अनुसन्धानको संवेदनशील प्रक्रियालाई सामाजिक सञ्जालमा प्रदर्शन गर्ने शैलीले प्रहरीप्रतिको नागरिक विश्वासमा समेत असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
यस घटनामा भिडियो कसरी खिचियो, कसरी बाहिरियो र सामाजिक सञ्जालसम्म कसरी पुग्यो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने माग उठेको छ।
पीडित परिवारलाई न्याय दिलाउन निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनअनुसार कारबाही आवश्यक छ। साथै, नाबालक आरोपितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री सार्वजनिक तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सचेत हुन आवश्यक देखिन्छ।
