पाकिस्तानमा २८ वर्षीया टिकटक स्टार शम्सु बीबी उर्फ आयशाको गोली हानी हत्या
इस्लामाबाद । पाकिस्तानको ट्याक्सिलामा २८ वर्षीया चर्चित टिकटक स्टार शम्सु बीबी उर्फ आयशा गिलानीको गोली हानी हत्या गरिएको छ। घटना अगस्ट १४ मा भएको र प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाइएको छ।
प्रहरीमा दर्ता भएको उजुरीअनुसार, घटनाअघि बीबीलाई काशिफ उर्फ ‘काशी’ नाम गरेका व्यक्तिले फोन गरेर तत्काल घरबाहिर आउन भनेका थिए। त्यसपछि उनी आफ्नी १५ वर्षीया बहिनी असीमा र भाइ नैमतुल्लाहसँग कारमा घरबाट बाहिरिएकी थिइन्।
परिवारका अनुसार पेट्रोल पम्पनजिक पुगेपछि मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले कारमाथि गोली चलाएका थिए। गोली बीबीको घाँटीमा लागेको र घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। गोली प्रहारपछि कार अनियन्त्रित भएर अर्को सवारीसाधनसँग ठोक्किँदा उनकी बहिनी असीमा गम्भीर घाइते भएकी छन्।
पुलिसले घटनास्थल आसपासका सीसीटीभी फुटेजसमेत जाँच गरिरहेको बताइएको छ। हालसम्म गोली चलाउने दुई व्यक्तिको पहिचान सार्वजनिक भएको छैन।
बीबी पछिल्लो तीनदेखि चार वर्षदेखि टिकटकमा सक्रिय रहेको उनका पिता फजल साहिबजादाले प्रहरी उजुरीमा उल्लेख गरेका छन्। उनको टिकटक खातामा करिब १३ लाख फलोअर्स रहेको बताइएको छ। परिवारका अनुसार उनको खातामा करोडौँ लाइकसमेत थिए। उनको मृत्युपछि परिवारले टिकटक खाता निष्क्रिय गरेको जनाएको छ।
आर्थिक विवादलाई हत्याको सम्भावित कारणका रूपमा हेरिँदै
परिवारले बीबीको हत्यापछि आर्थिक विवाद र धम्कीलाई सम्भावित कारणका रूपमा औँल्याएको छ। उनका पिता र भाइका अनुसार काउसर र जावेद उर्फ शाहीनसँग बीबीको आर्थिक कारोबार थियो र रकम फिर्ता गर्ने विषयमा विवाद तथा धम्की आएको थियो।
परिवारले यस विषयमा बीबीले इस्लामाबादमा उजुरीसमेत दिएको दाबी गरेको छ। उनका पिता फजलले काउसर र जावेदले आफैं वा अन्य व्यक्तिमार्फत हत्या गराएको हुन सक्ने आशंका गर्दै अनुसन्धान र कानुनी कारबाहीको माग गरेका छन्।
परिवारले घटनाअघि फोन गर्ने काशिफ उर्फ काशीको भूमिकामाथि पनि अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेको छ।
प्रहरीले परिवारले नाम उल्लेख गरेका व्यक्तिहरू तथा अज्ञात आक्रमणकारीविरुद्ध अनुसन्धान अघि बढाएको छ। यद्यपि हत्याको वास्तविक कारण र आक्रमणकारीको पहिचान प्रहरीले पुष्टि गर्न बाँकी छ। अनुसन्धानबाट मात्रै घटनाको वास्तविक पृष्ठभूमि स्पष्ट हुने बताइएको छ।
