पीडितको पहिचान गोप्य राख्न सञ्चारमन्त्री डा, विक्रम तिमिल्सिनाको आग्रह

महोत्तरी टुडे     

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने किसिमका तस्बिर, भिडियो तथा अन्य सामग्री प्रकाशन एवम् प्रसारण नगर्न आग्रह गरेका छन्।

मन्त्री तिमिल्सिनाले सम्पूर्ण सञ्चारमाध्यम, कार्यरत पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई संवेदनशील बन्न र पीडितको व्यक्तिगत गोपनीयताको सम्मान गर्न निर्देशन दिएका हुन्।

“अपराधमाथि अर्को अपराध नगरौँ” भन्ने मूल नाराका साथ जारी गरिएको यस आग्रहमा अपराधका घटनाहरू सार्वजनिक गर्दा पीडितको अनुहार वा पहिचान खुल्ने सामग्री सम्प्रेषण गर्दा पीडित र उनीहरूका परिवारले थप मानसिक आघात र सामाजिक लाञ्छना सहनुपर्ने तर्फ ध्यान आकर्षित गराइएको छ।

प्रचलित कानुनी प्रावधान र पत्रकारिता आचारसंहिता अनुसार पनि कुनै पनि अपराध वा हिंसाबाट प्रभावित पीडितको पहिचान गोपनीयता राख्नुपर्ने दायित्व सबै नागरिक र मिडियाको हुने कुरा स्मरण गराइएको छ। सामाजिक सञ्जालमा भाइरल बनाउने वा होडबाजी गर्ने नाममा पीडितको संवेदनशीलतामाथि खेलबाड नगर्न र कानुनको पालना गर्न मन्त्रालयले सबैमा अपिल गरेको छ।