धनुषामा २२.५८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
धनुषा, भदौ ७गते ।
धनुषाको सहिद नगरपालिकाबाट प्रहरीले भारी मात्रामा अवैध लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय यदुकूहा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भदौ ५ गते सहिद नगरपालिका वडा नं. ३ स्थित क्षेत्रमा लागु औषध खैरो हेरोइनको गैरकानुनी किनबेच तथा ओसारपसार भइरहेको विशेष सुराकीका आधारमा प्रहरी टोली खटिएको थियो। गस्ती तथा खानतलासीका क्रममा प्रहरीले दुई जना व्यक्तिलाई २२.५८० ग्राम खैरो हेरोइनसहित रंगेहात नियन्त्रणमा लिन सफल भएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौँले जनाएको छ।
पक्राउ पर्ने अभियुक्तहरूको विवरण:
बबलु पासवान (२७ वर्ष): स्थायी ठेगाना हंसपुर नगरपालिका वडा नं. ९, धनुषा
राजन यादव (१९ वर्ष): स्थायी ठेगाना सबेला नगरपालिका वडा नं. १०, धनुषा
प्रहरीले अभियुक्तहरूको साथबाट २२.५८० ग्राम खैरो हेरोइनका साथै सञ्चार तथा कारोबारमा प्रयोग गरिएको १ थान मोबाइल समेत बरामद (दशी) गरेको छ।
पक्राउ परेका दुवै जनालाई लागु औषध (नियन्त्रण) ऐन अनुसार आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनका लागि इलाका प्रहरी कार्यालय यदुकूहा, धनुषामा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जिबन निरौलाले जानकारी दिएका छन्।
पछिल्लो समय तराईका सीमावर्ती क्षेत्रहरूमा लागु औषधको अवैध कारोबार र प्रयोग बढ्दै गएकाले प्रहरीले विशेष निगरानी तथा कडाइ बढाएको जनाएको छ।

