रबिउन नूर कमिटीको आयोजनामा जनकपुरधाममा बृहत् रक्तदान, ३५ युनिट रगत संकलन
जनकपुरधाम । हजरत मोहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम)को १५०१औँ शुभ जन्मोत्सवको अवसरमा रबिउन नूर कमिटी, जनकपुरधामको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामस्थित तपसी चोकमा आयोजित कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोग तथा ब्लड फर नेपालको सहकार्यमा आयोजित कार्यक्रममा ३० जना पुरुष र ५ जना महिलासहित कुल ३५ जनाले रक्तदान गरेका थिए।
कार्यक्रम संयोजक इजाज अन्सारी तथा कमिटी अध्यक्ष अजिज राइनको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राजर्षि जनक क्याम्पसको समेत सहयोग रहेको थियो भने ब्लड फर नेपालको तर्फबाट निशान्त जी लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कमिटी अध्यक्ष अजिज राइनले ‘रक्तदान गरी गरौँ जीवनदान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले रक्तदानमार्फत आपत्मा परेका बिरामीको जीवन बचाउन सहयोग पुग्ने बताउँदै समाजमा भाइचारा, मानवता र सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
रबिउन नूर कमिटीले धार्मिक तथा सामाजिक अवसरलाई मानवीय सेवासँग जोड्दै आगामी दिनमा समेत विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
