कतारमा पहिलोपटक रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम आयोजना हुँदै।

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार- नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाली सेवा समाज दोहा–कतारले कतारमा पहिलोपटक रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ।

 

पाल्पाली सेवा समाजका अनुसार आगामी २८ अगस्ट २०२६, शुक्रबार प्लाजा मलस्थित मिस्क्याफे रेस्टुरेन्टमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रम दिउँसो १२ः३० बजेदेखि सुरु हुने जनाइएको छ।

 

कार्यक्रममा परम्परागत रोपाइँ जात्रा, तीज विशेष सांस्कृतिक प्रस्तुति, नेपाली लाखे नाच तथा नेपाली मौलिक खानाका विभिन्न परिकार प्रस्तुत गरिने आयोजकले जनाएको छ।

 

विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा तथा चाडपर्वलाई निरन्तरता दिने र नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष **बिकाश गैरे (बिक्की)**ले जानकारी दिनुभयो।

 

कार्यक्रममा नेपाल मगर सांस्कृतिक परिवार कतारको समेत विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। त्यस्तै कतारमा रहेका स्थानीय कलाकारहरू गायक तथा मोडल सुरेश बिसी, गायिका रेस्मी सेन्चुरी, गायिका सुमित्रा भट्टराई, गायक हुमकान्त पराजुली तथा नृत्याङ्गना सुस्मिता मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ।

 

अतिथि कलाकारका रूपमा चर्चित डान्सर सबिता आले मगरको समेत विशेष प्रस्तुति रहनेछ।

 

पाल्पाली सेवा समाज दोहा–कतारले स्थापना कालदेखि नै “पाल्पाली सेवा समाज दोहा–कतारको प्रतिबद्धता, निःस्वार्थ समाजसेवा आजको आवश्यकता” भन्ने मूल भावनाका साथ विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको छ। समाजको स्थापना सन् २००७ मा भएको हो।

 

समाजका महासचिव हिरालाल बस्यालले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ। कतारमा स्थापित विभिन्न नेपाली संघसंस्था तथा समुदायलाई निमन्त्रणा पत्र पठाइसकिएको जानकारी दिँदै उहाँले निमन्त्रणा पत्र प्राप्त नभएको अवस्थामा पनि यस समाचारलाई आधार मानी कार्यक्रममा सहभागी भई नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वलाई सामूहिक रूपमा मनाउन आग्रह गर्नुभएको छ।

 

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक धना कुमारी श्रेष्ठले जानकारी दिनुभयो।

 

नेपाली संस्कृति, कला र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले कतारमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ।