कतारमा नेपाली महिला भलिबल टोली च्याम्पियन, फिलिपिन्स ‘बी’लाई सोझो सेटमा पराजित
आशिक हुसैन शेख दोहा, कतार । कतारमा श्रमिक सहयोग तथा बिमा कोषको आयोजनामा सञ्चालित महिला च्याम्पियनसिप कप–२०२६ को उपाधि नेपाली महिला भलिबल टोलीले जितेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाली टोलीले फिलिपिन्स ‘बी’ टोलीलाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो। कप्तान कोसेली मगरको नेतृत्वमा मैदानमा उत्रिएको नेपालले फिलिपिन्सलाई २५–२३, २५–२१ र २५–१० को सोझो सेटमा हराएको थियो।

उपाधिसँगै नेपाली टोलीले कप, मेडल र ५ हजार कतारी रियाल पुरस्कार प्राप्त गरेको छ। व्यक्तिगत विधातर्फ नेपाली टोलीकी कप्तान कोसेली मगरले प्रतियोगिताको उत्कृष्ट खेलाडी (एमभीपी) को पुरस्कार प्राप्त गरिन् भने पुष्पा शाही उत्कृष्ट स्पाइकर घोषित भइन्। नेपाली टोलीले उत्कृष्ट युनिफर्मको पुरस्कारसमेत प्राप्त गर्दै थप २ हजार कतारी रियाल पाएको छ।
नेपालले फाइनलअघि सेमिफाइनलमा फिलिपिन्स ‘ए’ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा फिलिपिन्स ‘बी’ले ट्युनिसियालाई पराजित गरेको थियो।

कतारमा नेपाली महिला भलिबल टोलीको औपचारिक उपस्थिति छोटो समयअघि मात्र सुरु भए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। एनआरएनए एनसीसी कतारको खेलकुद विभागले जुलाईको दोस्रो साताबाट खेलाडी खोजी गरी टोली निर्माण गरेको थियो। टोली निर्माण, अभ्यास, जर्सी, खेलमैदान तथा अन्य व्यवस्थापनमा कतारस्थित नेपाली व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूको समेत सहयोग रहेको जनाइएको छ।
छोटो समयमै तयार भएको नेपाली टोलीले च्याम्पियन बनेपछि कतारमा रहेका नेपाली समुदायमा खुसी छाएको छ। फाइनल खेलमा नेपाली समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने उपाधि जितेपछि खेलाडीहरूले नेपाली राष्ट्रिय झण्डासहित ट्रफी उचाल्दै खुसी मनाएका थिए।
यो सफलता विदेशमा रहेका नेपाली महिला खेलाडीलाई अवसर, साथ र उचित व्यवस्थापन उपलब्ध गराइएमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उदाहरणका रूपमा समेत लिइएको छ।
नेपालकी छोरीहरूको गौरवपूर्ण जितलाई हार्दिक बधाई तथा सम्पूर्ण नेपाली महिला भलिबल टोलीलाई आगामी यात्राका लागि महोत्तरी टुडे डटकम को तर्फ शुभकामना।
