गौतमबुद्ध विमानस्थल चार वर्षपछि पनि सुनसान, नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा
भैरहवा । आधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामै रहेको छ।
पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा उडान सञ्चालन गरे पनि मार्चपछि उक्त सेवा बन्द भएको विमानस्थल प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा करिब ३५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको विमानस्थलको पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।
विमानस्थल प्रशासन तथा निजी क्षेत्रका सरोकारवालाले समस्या यात्रु अभाव मात्रै नभई नीतिगत कमजोरी, काठमाडौंकेन्द्रित ट्राभल बजार, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सक्रियताको कमी तथा भारतसँग आवश्यक कूटनीतिक पहल हुन नसक्नुलाई मुख्य कारणका रूपमा औंल्याएका छन्।
सरोकारवालाले बुद्ध सर्किटलाई लक्षित गरी अन्तर्राष्ट्रिय उडान विस्तार, भारतसँगको हवाई सम्झौता पुनरावलोकन, नेपाल वायुसेवा निगममार्फत नियमित उडान तथा कार्गो सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
तीन किलोमिटर लामो रनवेसहित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक आधुनिक पूर्वाधार रहेको विमानस्थलले अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान पाउन नसक्दा यसको लगानी र उपयोगितामाथि समेत प्रश्न उठ्न थालेको छ।
