कतारमा नौमती पञ्चे बाजाको गुञ्जनसहित परियार मित्रता समाजको बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
आशिक हुसैन शेख दोहा, कतार।
परियार मित्रता समाज दोहा, कतारले नेपाली मौलिक कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी २०२६ अगस्ट ७ तारिख शुक्रबार फ्रिज अब्दुल अजीजस्थित घरवा रेष्टुरेन्टमा दिउँसो १२:०० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रमको मुख्य आकर्षण नेपालको मौलिक नौमती पञ्चे बाजा रहने जनाइएको छ।
“संस्कृति, सम्मान र पहिचान—राष्ट्रिय नौमती बाजा संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले परदेशमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा, सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति, मौलिक नृत्य, हास्य–व्यंग्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। साथै, प्रवासमा रहेका नेपाली कलाकारहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने अवसरका रूपमा समेत कार्यक्रमलाई लिइएको आयोजकले जनाएको छ।
परियार मित्रता समाज, कतारका महासचिव प्रताप चाहार (मुस्कान) ले महोत्तरी टुडे डटकमलाई जानकारी दिँदै कार्यक्रम नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताउनुभयो।
उहाँका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा जोड्दै आपसी भेटघाट, भाइचारा, सद्भाव र सांस्कृतिक एकतालाई अझ बलियो बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। साथै, नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र परम्परासँग जोड्न पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
परियार मित्रता समाज, कतारले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, व्यवसायी, खेलाडी तथा शुभेच्छुकहरूलाई परिवार र साथीभाइसँग उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
