एनआरएनए कतारको अपिल : शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्ष जिम्मेवार बन्न आग्रह
आशिक हुसैन शेख दोहा, कतार — नेपालमा पछिल्लो समय देखिएको असहज परिस्थितिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले देशमा शान्ति, स्थिरता, सुशासन तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।
एनआरएनए एनसीसी कतारले जारी गरेको प्रेस–वक्तव्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीबीच एकता, सहकार्य र सकारात्मक भूमिकाको आवश्यकता रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिले नागरिकको जनजीवन, सार्वजनिक सेवा तथा सामाजिक वातावरणमा पार्न सक्ने असरप्रति आफूहरू संवेदनशील रहेको जनाएको छ।
संघले कठिन परिस्थितिमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई संयमित, धैर्यवान् र जिम्मेवार बन्न अपिल गरेको छ। साथै नागरिकका मौलिक हक, सुरक्षा र सम्मान सुनिश्चित गर्दै देशमा शान्ति, स्थिरता र सुशासन कायम गर्न सम्बन्धित सबै पक्षबीच संवाद, सहकार्य र आपसी समझदारीको वातावरण बनाउनुपर्नेमा जोड दिएको छ।
विभेद, हिंसा र अराजकता स्वीकार्य छैन
एनआरएनए कतारले जात, धर्म, भाषा, लिङ्ग, क्षेत्र वा राजनीतिक आस्थाका आधारमा हुने कुनै पनि प्रकारको विभेद, हिंसा तथा अराजकता स्वीकार्य नहुने स्पष्ट पारेको छ।
नागरिकको जीवन र सम्पत्तिको सुरक्षा, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै संघले विद्यमान समस्याको समाधान लोकतान्त्रिक मूल्य, कानुनी शासन र शान्तिपूर्ण संवादमार्फत खोज्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
मातृभूमिको शान्ति र समृद्धिप्रति प्रतिबद्ध
एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारले मातृभूमिको शान्ति, स्थायित्व, समृद्धि र नागरिकको सुरक्षित भविष्यका पक्षमा आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।
देश र जनताको हितलाई सर्वोपरि राख्दै वर्तमान परिस्थितिलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्न सबै सरोकारवाला पक्षबाट सकारात्मक पहल, संवाद र सहकार्य हुने विश्वाससमेत संघले व्यक्त गरेको छ।

