नेपालमा धार्मिक सद्भाव कायम राख्न मधेश प्रदेश समन्वय परिषद् कतारको अपिल
आशिक हुसैन शेख दोहा (कतार), अगस्ट १, नेपालका विभिन्न स्थान तथा विशेषगरी तराई–मधेस क्षेत्रमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गर्दै मधेश प्रदेश समन्वय परिषद् कतारले आपतकालीन बैठक सम्पन्न गरेको छ।
कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवानको अध्यक्षतामा सम्पन्न बैठकले नेपालमा हिन्दू–मुस्लिम समुदायबीचको धार्मिक सद्भाव, सामाजिक एकता र आपसी भाइचारा कायम राख्न सम्पूर्ण नेपाली नागरिकसँग संयमता अपनाउन आग्रह गरेको छ। परिषद्ले कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली हिन्दू–मुस्लिम समुदायलाई पनि आपसी सद्भाव, सम्मान र सहकार्यका साथ बस्न तथा कुनै पनि अफवाह, भ्रामक सूचना वा उक्साहटमा नलाग्न विशेष अनुरोध गरेको छ।
बैठकले आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका तीन जनाप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
परिषद्ले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ। साथै, धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, घृणा फैलाउने वा हिंसा भड्काउने जोसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
बैठकले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ। विशेषगरी फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा लाइभ बसेर वा अन्य माध्यमबाट कुनै पनि धर्म, आस्था वा समुदायप्रति अपमानजनक टिप्पणी, घृणा फैलाउने अभिव्यक्ति वा धार्मिक भावना भड्काउने सामग्री प्रसारण नगर्न र नगराउन सबैमा अनुरोध गरिएको छ। परिषद्ले सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएको छ।
बैठकमा महासचिव इसिलाल पण्डित, धनुषा सेवा समाज कतारका अध्यक्ष जमिर नदाफ, अली हुसेन राइन, कमलेश महतो, सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादव, समाजसेवी बसिर बरकाती, समाजसेवी हबिबुल्लाह खान, दहेजमुक्त अभियानका रफिक राइन, उपाध्यक्ष रमेश साह, उपाध्यक्ष अजाद मन्सुर, यासिन मामा विश्व साइकल यात्री, लगायतको उपस्थिति रहेको थियो।
उपस्थित सबै वक्ताहरूले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबै नेपालीको साझा दायित्व भएको बताएका थिए। उनीहरूले कुनै पनि प्रकारको हिंसा, घृणा र साम्प्रदायिक विद्वेषलाई अस्वीकार गर्दै शान्ति, कानुनी शासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।
बैठकको अन्त्यमा मधेश प्रदेश समन्वय परिषद् कतारले नेपालमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहअस्तित्व कायम राख्न सम्पूर्ण नेपाली नागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ।
