सुनसरी घटनाप्रति उपराष्ट्रपति यादवको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

महोत्तरी टुडे     

महोत्तरी टुडे महोत्तरी, साउन १४

सम्माननीय ले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ।

 

उपराष्ट्रपति यादवले जारी गर्नुभएको अपिलमा घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ।

 

उहाँले नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई राष्ट्रको साझा सम्पत्ति भएको उल्लेख गर्दै आवेग, हिंसा र मुठभेडबाट टाढा रही जिम्मेवार व्यवहार गर्न सबै नागरिकलाई अनुरोध गर्नुभएको छ। कुनै पनि समस्याको समाधान शान्तिपूर्ण संवादबाट मात्रै सम्भव हुने भएकाले आफ्ना माग र विचार संयमित ढंगले प्रस्तुत गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ।

 

उपराष्ट्रपतिले स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजलाई आपसी समन्वयमार्फत विश्वासको वातावरण निर्माण गर्न आह्वान गर्नुभएको छ। साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह तथा घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन सबैमा आग्रह गर्दै सञ्चारमाध्यमलाई तथ्यपरक, सन्तुलित र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभएको छ।

FB_IMG_1785320864847.jpg

उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनतालाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ।