सर्वदलीय बैठकपछि दलहरूको संयुक्त अपिल : सामाजिक सद्भाव, शान्ति र संयम कायम राख्न आग्रह
काठमाडौं । सुनसरीलगायत देशका विभिन्न जिल्लामा पछिल्लो समय विकसित संवेदनशील घटनाक्रम र त्यसबाट सिर्जित असहज परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम राख्न सबैमा अपिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका महासचिव आरोन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीलगायत सहभागी थिए।
संयुक्त वक्तव्यमा हालैका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
दलहरूले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा देश भएकाले कुनै पनि प्रकारका घृणा, उत्तेजना र विभाजनकारी गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेका छन्। समस्याको समाधान हिंसा वा आक्रोशबाट नभई शान्तिपूर्ण संवाद, सहमति र संवैधानिक प्रक्रियाबाट मात्र सम्भव हुने उनीहरूको भनाइ छ।
संयुक्त वक्तव्यमा प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सर्वदलीय बैठक आयोजना गरी धार्मिक अगुवा, नागरिक समाज, स्थानीय प्रशासन र समुदायबीच संवाद बढाउन तथा विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पार्टीका स्थानीय संरचनालाई निर्देशन दिइएको उल्लेख छ।
दलहरूले सामाजिक सञ्जालमा भ्रामक समाचार, अफवाह, घृणास्पद अभिव्यक्ति तथा उत्तेजनात्मक सामग्री नफैलाउन आग्रह गर्दै सञ्चारमाध्यमलाई समेत तथ्यपरक, जिम्मेवार र संयमित समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन्।
त्यसैगरी सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
संयुक्त वक्तव्यको अन्त्यमा सबै राजनीतिक दलले राष्ट्रिय एकता, सामाजिक सद्भाव र स्थायी शान्तिको पक्षमा एकजुट भएर सरकार र समाजसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


