ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिमाना
महोत्तरी टुडे डेस्क, महोत्तरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्ता ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले उनलाई रु ५०० जरिमाना गरेको हो।
सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सडक सुरक्षासम्बन्धी नियमको पालना गर्नुपर्ने जिम्मेवारी जनप्रतिनिधिले नै उल्लङ्घन गरेको भन्दै धेरैले प्रश्न उठाएका थिए।
आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाले भावुक बनाएको र रमाइलोको क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लङ्घन भएको महसुस गरेको बताएका छन्।
उनले आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। साथै, आफ्नो जोस र ऊर्जालाई अब देश र जनताको हितमा समर्पित गर्ने उल्लेख गर्दै जानी वा नजानी भएको गल्तीका लागि सबैसँग क्षमा मागेका छन्।
