कतारमा मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगिता: नेपालको १७ सदस्यीय टोली घोषणा
आशिक हुसैन शेख दोहा कतार-
श्रम सहकार्य तथा बिमा कोष कतारको आयोजनामा शुक्रबारदेखि सुरु हुने 'मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगिता–२०२६' मा नेपालले सहभागिता जनाउने भएको छ। प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतारको समन्वयमा १७ सदस्यीय नेपाली महिला भलिबल टोली सार्वजनिक गरिएको हो।


बिहीबार साँझ आयोजित परिचयात्मक कार्यक्रम, जर्सी हस्तान्तरण तथा जिम्मेवारी बाँडफाँड समारोहमार्फत टोलीको औपचारिक घोषणा गरिएको थियो। कार्यक्रममा खेलाडीहरूलाई आधिकारिक जर्सीसमेत प्रदान गरिएको थियो।
घोषित टोलीमा निशा पराजुली टोली संयोजक, बिष्णु खत्री टोली व्यवस्थापक तथा सागर बि.के. प्रशिक्षक रहेका छन्। कोसेली रोखा मगर (जर्सी नं. १०) कप्तान र रबुका श्रेष्ठ (जर्सी नं. १) उपकप्तान चयन भएका छन्।
खेलाडीहरूमा कल्पना घर्ती, इन्दिरा शाह, आशिक बि.के., वर्षा जलारी, जुना कुँवर खत्री, रोजिना गुरुङ, करुण खड्का, गंगा गुरुङ, भीम कुमारी के.सी., सरिता तामाङ, आकांक्षा मगर र देवी बि.के. रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए एनसिसी कतारका खेलकुद संयोजक राजन चापागाईँ ले खेलकुदले विदेशमा नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले मैत्रीपूर्ण प्रतियोगितामा अनुशासित, आत्मविश्वासी र उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गरे।
एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थी ले हार–जित खेलको स्वाभाविक पक्ष भएकाले धैर्यता, संयमता र टिमभावनाका साथ खेल्दै नेपालको प्रतिष्ठा उच्च राख्न शुभकामना व्यक्त गरे।
आयोजकका अनुसार प्रतियोगिता अली बिन हमद अल अतिया एरिना, अल सादस्थित इन्डोर हल मा शुक्रबार बिहान सञ्चालन हुनेछ। खेल हेर्न आउने दर्शक तथा समर्थकहरूले गेट नम्बर–२ बाट प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
एनआरएनए एनसिसी कतारले नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गरेको छ।
