पाँच लाख रुपैयाँ घुससहित आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत पक्राउ
महोत्तरी टुडे सिरहा। आन्तरिक राजश्व कार्यालय लहान, सिरहामा कार्यरत कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङ ले कर अधिकृत पाल पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेको पुष्टि गरेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, एक सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा प्रतिवेदन मिलाइदिने भन्दै कर अधिकृत पालले सुरुमै पाँच लाख रुपैयाँ घुस मागेको आरोप छ। घुस प्राप्त भएपछि मात्र अडिट प्रक्रिया अघि बढाइने भन्दै सम्बन्धित कम्पनीबाट आवश्यक सम्पूर्ण कागजात समेत पेस गराइएको बताइएको छ।
अख्तियारको टोलीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार गर्ने कार्य गरिरहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
रासस
