कतारका अमिरसँग नेपालका उपराष्ट्रपति यादवको भेट, स्वर्गीय फादर अमिरप्रति समवेदना व्यक्त

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा (कतार), असार ३१गते १५ जुलाई- नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बुधबार लुसैल दरबारमा कतारका अमिर शेख तामिम बिन हमद अल थानीसँग शिष्टाचार भेट गरी स्वर्गीय फादर अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार, नेपाली जनता तथा आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेका छन्।

FB_IMG_1784121371444.jpg

समवेदना व्यक्त गर्न कतार भ्रमणमा रहेका उपराष्ट्रपति यादवले भेटका क्रममा स्वर्गीय फादर अमिरप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा नेपाल कतार सरकार, शाही परिवार र सम्पूर्ण कतारी जनतासँग ऐक्यबद्ध रहेको सन्देश दिएका थिए।

 

लुसैल दरबारमा सम्पन्न उक्त भेटमा कतारका उप-अमिर शेख अब्दुल्लाह बिन हमद अल थानी, प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी, शूरा परिषद्का सभामुख हसन बिन अब्दुल्लाह अल गानिम तथा शाही परिवारका वरिष्ठ सदस्यहरूको उपस्थिति रहेको थियो। साथै, स्वर्गीय फादर अमिरका पुत्रहरू र अन्य शेखहरूको पनि सहभागिता रहेको थियो।

 

स्वर्गीय फादर अमिर शेख हमद बिन खलिफा अल थानीको निधनपछि कतार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शाही परिवारप्रति समवेदना व्यक्त गर्न विभिन्न मित्रराष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरू दोहा पुगिरहेका छन्।

 

नेपाल र कतारबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग र पारस्परिक सम्मानलाई यस उच्चस्तरीय भेटले थप सुदृढ बनाउने विश्वास गरिएको छ।