बागमती प्रदेश समन्वय परिषद् कतारले मनाउँदै २३औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार।

बागमती प्रदेश समन्वय परिषद् कतारको आयोजनामा तथा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्ला संस्थाहरूको सह–आयोजनामा २३औँ राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने दिनको अवसर पारेर शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गरिने भएको छ।

 

नेपाली कृषि संस्कृति, मौलिक परम्परा, सामाजिक सद्भाव तथा राष्ट्रिय पहिचानसँग जोडिएको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनलाई प्रवास भूमिमा पनि विशेष रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

 

नेपालमा प्रत्येक वर्ष असार १५ गते धान रोपाइँको उत्सवका रूपमा राष्ट्रिय धान दिवस मनाउने परम्परा रहिआएको छ। कृषिप्रधान मुलुक नेपालको अर्थतन्त्र, संस्कृति तथा जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको यस पर्वले किसानहरूको योगदानको सम्मान गर्नुका साथै कृषि क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइन्छ। यही महत्वलाई आत्मसात गर्दै कतारमा रहेका नेपालीहरूबीच पनि उक्त दिवसलाई उल्लासमय वातावरणमा मनाउन लागिएको हो।

 

कार्यक्रममार्फत कतारमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ। कार्यक्रममा शुभकामना आदान–प्रदान, सांस्कृतिक प्रस्तुति, लोकगीत तथा नेपाली मौलिक संस्कृतिको झल्को दिने विविध कार्यक्रमहरू समावेश गरिने जनाइएको छ।

 

बागमती प्रदेश समन्वय परिषद् कतारले दोहा तथा आसपासका क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई विशेष दिनलाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफल बनाउन आग्रह गरेको छ। साथै कार्यक्रमले प्रवासी नेपालीहरूबीच आपसी सद्भाव, सहयोग र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।

 

आयोजकका अनुसार कार्यक्रम आगामी २६ जुन २०२६ शुक्रबार दिउँसो १२:०० बजेदेखि फुलबारी रेस्टुरेन्ट, सनैया, दोहा–कतारमा आयोजना हुनेछ।

 

कार्यक्रम विवरणः

मिति: २६ जुन २०२६, शुक्रबार

समय: दिउँसो १२:०० बजे देखि

स्थान: फुलबारी रेस्टुरेन्ट, सनैया, दोहा–कतार

 

आयोजक: बागमती प्रदेश समन्वय परिषद् कतार

सह-आयोजक: बागमती प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरू

आयोजकले नेपालीपन, एकता र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सबैलाई हातेमालो गर्न आह्वान गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग, सहभागिता तथा उपस्थितिका लागि सम्पूर्ण नेपाली समुदायसमक्ष हार्दिक अनुरोध गरेको छ।