सुपर ओभरमा सोनमा गाउँपालिकाको शानदार जित
महोत्तरी टुडे
आषाढ ८ २०८३
महोत्तरी, असार ८ — ‘महोत्तरी
जिल्ला म्युनिसिपालिटी लेभल क्रिकेट टुर्नामेन्ट २०८३’ अन्तर्गत आज सम्पन्न रोमाञ्चक खेलमा सोनमा गाउँपालिका क्रिकेट टोलीले गौशाला नगरपालिका माथि सुपर ओभरमा शानदार जित दर्ता गरेको छ।
निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि खेलको निर्णय सुपर ओभरमार्फत गरिएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको सोनमाले १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा गौशालालाई सोनमाका बलरहरूले कडा दबाबमा राख्दै ६ रनमा सीमित गरेपछि सोनमाले ६ रनको महत्वपूर्ण जित हासिल गर्यो।
पहिलो खेलमा पराजित भएको सोनमाका लागि यो जित सेमिफाइनल सम्भावना जीवित राख्न महत्वपूर्ण साबित भएको छ। टोलीका खेलाडीहरूले अनुशासित तथा आक्रामक खेल प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारेका थिए।
मुख्य प्रशिक्षक तथा वडा अध्यक्ष अशोक कुमार यादव र टिम म्यानेजर धर्मेन्द्र कुमार यादवको रणनीतिक नेतृत्वमा आएको यस जितपछि गाउँपालिकाभरि खुसीयाली छाएको छ। अब समूह ‘ए’ मा रहेको सोनमा गाउँपालिकाले आफ्नो तेस्रो तथा अन्तिम समूह चरणको खेल असार १० गते बिहान ९ बजे मनरा शिसवा नगरपालिका विरुद्ध खेल्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
