कतारको रास लाफान कारखाना विस्फोट: घाइतेको संख्या ५४ पुग्यो, १८ जना अझै बेपत्ता, उद्धार कार्य जारी
दोहा, असार ७ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको दुर्घटनामा घाइते हुनेको संख्या ५४ पुगेको छ।
कतारको गृह मन्त्रालय (MoI) का अनुसार दुर्घटनापछि १८ जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजीका लागि आन्तरिक सुरक्षा बल (लेख्विया) अन्तर्गतको कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह तथा सिभिल डिफेन्सका टोलीहरूले संयुक्त रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।
घटनापछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ भने बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन्।
यसैबीच, कतारको गृह मन्त्रालयले सर्वसाधारण तथा सञ्चारमाध्यमलाई आधिकारिक निकायबाट प्राप्त जानकारीलाई मात्र आधार मानेर समाचार तथा सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। मन्त्रालयले कतारमा प्रचलित कानुन तथा सञ्चारसम्बन्धी नियमहरूको पूर्ण पालना गर्दै अपुष्ट सूचना, अफवाह वा अनुमानका आधारमा कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न अनुरोध गरेको छ।
मन्त्रालयले आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका सूचना तथा विज्ञप्तिमाथि मात्र भरोसा गर्न सबैलाई आग्रह गरेको छ।
