सम्सीमा सर्पदंश उपचार केन्द्र स्थापनाको माग, युवा नेता राजेश यादवको आग्रह

आशिक हुसैन शेख     

सम्सी महोत्तरी, असार १० ।

युवा नेता तथा समाजसेवी राजेश यादवले सम्सी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना गर्न माग गरेका छन्।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गौरी यादवलाई सम्सी गाउँपालिकामा आवश्यक एन्टिभेनम, दक्ष स्वास्थ्यकर्मी तथा उपकरणसहितको सर्पदंश उपचार केन्द्र स्थापना गर्न पहल गर्न अनुरोध गरेका छन्।

 

उनले तराई क्षेत्रमा विशेषगरी वर्षायाममा सर्पदंशका घटनाहरू बढ्ने गरेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन्। विगतमा महोत्तरीका विभिन्न स्थानमा सर्पको टोकाइका कारण किसान तथा सर्वसाधारणको मृत्यु भएका घटनाहरू स्मरण गराउँदै उनले यस समस्याको दीर्घकालीन समाधानका लागि उपचार केन्द्र आवश्यक रहेको बताएका छन्।

 

फेसबुक पोस्टमा यादवले सम्सीलाई केन्द्र बनाएर सर्पदंश उपचार केन्द्र स्थापना भए सम्सी, सोनमा, रामगोपालपुर लगायत आसपासका हजारौं नागरिकले सहज र समयमै उपचार सेवा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन्।

 

उनले जनताको स्वास्थ्य र जीवनरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।