शैक्षिक जागरण अभियानमार्फत देशव्यापी जनचेतना फैलाउँदै जमिअत उलेमा नेपाल।

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क सम्सी- जमिअत उलेमा नेपालद्वारा सञ्चालन गरिएको “शैक्षिक सचेतना अभियान २०८२/८३” अन्तर्गत महोत्तरी जिल्लाको सम्सी बजार घण्टाघर चौकमा जनचेतनामूलक जुलुस तथा कार्यक्रम सम्पन्न गरिएको छ। शिक्षा सबैका लागि अनिवार्य अधिकार हो भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अभियान अहिले देशका विभिन्न जिल्लामा सक्रिय रूपमा सञ्चालन भइरहेको छ।

अभियानअन्तर्गत आयोजित कार्यक्रममा स्थानीय धार्मिक अगुवा, शिक्षक, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले “हरेक बालबालिकालाई शिक्षाको पहुँचमा जोडौँ” भन्ने मूल नारासहित ब्यानर प्रदर्शन गर्दै जनचेतना फैलाएका थिए।

FB_IMG_1777455837764.jpg

कार्यक्रममा वक्ताहरूले बालबालिकाको शिक्षामा विशेष ध्यान दिनुपर्ने, बीचमै पढाइ नछोड्ने वातावरण बनाउनुपर्ने तथा अभिभावकहरूले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा विद्यालय वा मदरसामा भर्ना गराउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शिक्षा व्यक्तिको मात्र नभई समाजको समग्र विकासका लागि अपरिहार्य रहेको बताएका थिए।

अभियान चैत १५ गतेदेखि वैशाख १६ गतेसम्म सञ्चालन हुने बताइएको छ। यस अवधिमा विभिन्न जिल्लामा बैठक, र्याली, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएको छ। अभियानमार्फत विपन्न, अनाथ तथा मजदुर बालबालिकालाई पनि शिक्षाको पहुँचमा ल्याउन सबै पक्षसँग सहकार्यको अपिल गरिएको छ।

जमिअत उलेमा नेपालका प्रतिनिधिहरूले धार्मिक तथा आधुनिक शिक्षाको सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै युवापुस्तामा बढ्दो नैतिक विचलनप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षा नै मुख्य आधार भएको बताए।

कार्यक्रममा स्थानीय सुरक्षा निकायको उपस्थिति रहेको थियो र जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। आयोजकले अभियानलाई गाउँ–गाउँ र घर–घरमा विस्तार गर्दै हरेक बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अभियानका प्रवक्ता मोहम्मद सनाउल्लाह नदवीका अनुसार, “शिक्षा हरेक व्यक्तिको मौलिक अधिकार हो, त्यसैले कुनै पनि बालबालिका शिक्षाबाट टाढा रहनु हुँदैन।” साथै मदरसाको व्यवस्थापन र दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन सरकारसँग स्पष्ट नीति निर्माणको माग समेत गरिएको छ।

अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाहरू, शिक्षक, अभिभावक तथा स्थानीय समुदायप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

FB_IMG_1777456701485.jpg