महोत्तरी जिल्लामा शान्तिपूर्ण मतदान जारी
महोत्तरी टुडे- महोत्तरीमा शान्तिपूर्ण मतदान, बिहान १० बजेसम्म ६२,९१३ मत खस्यो। महोत्तरी जिल्लाभर आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहका साथ सहभागी भइरहेका छन्। हालसम्म जिल्लामा करिब १० प्रतिशत मतदान सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

जिल्लाभर कुल २५८ मतदान स्थल र ५३६ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। त्यसैगरी ३ वटा अस्थायी मतदान केन्द्र पनि सञ्चालनमा रहेका छन्। तीमध्ये कारागार कार्यालयमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ।

प्राप्त विवरण अनुसार बिहान १० बजेसम्म जिल्लाभर जम्मा ६२ हजार ९१३ मत खसेको छ। क्षेत्र नम्बर १ मा महिला ४ हजार १०० र पुरुष ६ हजार ३८० गरी जम्मा १० हजार ४८० मत खसेको छ। क्षेत्र नम्बर २ मा महिला ७ हजार ८५४ र पुरुष ८ हजार २४ गरी जम्मा १५ हजार ८७८ मत खसेको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा महिला १० हजार २३३ र पुरुष ११ हजार १५८ गरी जम्मा २१ हजार ३९१ मत खसेको छ। क्षेत्र नम्बर ४ मा महिला ७ हजार ९१३ र पुरुष ७ हजार २५१ गरी जम्मा १५ हजार १६४ मत खसेको छ।
चारवटै क्षेत्रमा गरी हालसम्म पुरुष ३२ हजार ८१३ र महिला ३० हजार १०० गरी जम्मा ६२ हजार ९१३ मत खसेको सम्बन्धित निकायले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने कुनै अप्रिय घटना बिना मतदान प्रक्रिया अघि बढिरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाइएको छ।
