बोदे बर्साईनमा नव–निर्मित वडा कार्यालय भवन उद्घाटन
बोदे बर्साईन, सप्तरी, २९ माघ:उमेश कुमार साह-
सप्तरीको बोदे बर्साईन नगरपालिका–१, धनगढीमा नव–निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। बुधबार आयोजित एक समारोहबीच बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले भवनको उद्घाटन गर्नुभएको हो।
नगर प्रमुख यादवले पानसमा दीप प्रज्वलन गरी तथा शिलालेख अनावरण गर्दै भवनको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले वडा कार्यालयको आफ्नै भवन निर्माणसँगै नागरिकले अब सहज, छिटो र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले सेवा प्रवाहलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रबिन्द्र कुमार साहले आफ्नै भवनबाट सेवा सञ्चालन हुन थालेकोमा खुशी व्यक्त गर्नुभयो। अब वडा बासिन्दालाई सेवा लिन थप सहज हुने बताउँदै उहाँले “वडाको आफ्नै भवन निर्माण भएसँगै आफू सिंहदरबारमै आएको जस्तो अनुभूति भएको” प्रतिक्रिया दिनुभयो। अध्यक्ष साहले गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यअनुरूप भवन निर्माण गरिएको उल्लेख गर्दै कर्मचारीहरूलाई सुविधा सम्पन्न भवनको पूर्ण सदुपयोग गरी आम नागरिकलाई छरितो र प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो।
वडा अध्यक्ष साहका अनुसार उक्त भवन नगरपालिकाको कुल ४० लाख ६१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो। भवन जय राजाजी बाबा कन्स्ट्रक्सन एन्ड सप्लायर्स, सिस्वा–बेल्ही–३, सप्तरीले निर्माण गरेको जानकारी दिइएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, विभिन्न जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
