महोत्तरीमा उम्मेदवारी सिफारिस प्रकरणले चर्कियो विवाद
महोत्तरी ।
नेपाली कम्युनिस्ट पार्टी महोत्तरी क्षेत्र नं. १, २, ३ र ४ मा गरिएको उम्मेदवारी सिफारिस एकतर्फी रूपमा उल्ट्याइएको आरोपपछि पार्टीभित्र तीव्र असन्तोष देखिएको छ। क्षेत्रीय तहबाट सर्वसम्मत रूपमा गरिएको निर्णयलाई सीमित स्वार्थ समूहले बेवास्ता गर्दै परिवर्तन गरेको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरू आक्रोशित भएका छन्।
सूर्यनारायण शाह, विजय यादव र राजेश यादवको कडा आपत्ति
नेता सूर्यनारायण शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उक्त कदमलाई कार्यकर्ताको भावना र पार्टीको संस्थागत निर्णयमाथिको खुला हमला भएको बताएका छन्। पार्टीको मेरुदण्ड इमानदार कार्यकर्ता भएको उल्लेख गर्दै उनले गुटगत र व्यक्तिवादी निर्णय स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
विजय यादवले भने– “यो पार्टी निर्णयको हत्या र कार्यकर्तामाथिको विश्वासघात हो”
यसैगरी, नेता विजय यादवले महोत्तरी क्षेत्र नं. ४ अन्तर्गत रामगोपालपुरमा बसेको बैठकले अधिकांश नेता तथा कार्यकर्ताको सुझावअनुसार प्रत्यक्षतर्फ पहिलो नम्बरमा पार्टीका संयोजक क. प्रचण्ड र दोस्रो नम्बरमा भरत प्रसाद साहको नाम सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका छन्। साथै समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारहरूको सूची केन्द्रमा पठाउने स्पष्ट सहमति भएको उनले बताएका छन्।
तर उक्त निर्णयलाई एकै झट्कामा उल्ट्याउँदै सीमित समूहले षड्यन्त्रपूर्ण, एकाधिकारवादी र तानाशाही शैलीमा उम्मेदवारी सिफारिस गरेको यादवको आरोप छ। उनले यसलाई पार्टी निर्णयको हत्या र कार्यकर्तामाथिको गम्भीर विश्वासघातको संज्ञा दिएका छन्।
त्यस्तै, नेता राजेश यादवले पनि फेसबुक पोस्टमार्फत लोकतान्त्रिक प्रक्रिया कमजोर पार्ने यस्ता गतिविधिले पार्टीको साखमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। उनले पार्टी विधान र संगठनात्मक अनुशासन विपरीत गरिएका सबै निर्णयमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
तीनै नेताले पार्टी निर्माणको आधार कार्यकर्ता भएको दोहोर्याउँदै कार्यकर्ताको आवाज दबाउने, सामूहिक निर्णयलाई कुल्चिने र गुटगत स्वार्थ हावी गराउने प्रवृत्ति तत्काल रोक्न नेतृत्वसँग माग गरेका छन्। उनीहरूले यस प्रकरणमा संलग्न सबैलाई चिन्हित गरी पार्टी विधानअनुसार कडा कारबाही गर्न जोडदार आग्रह गरेका छन्।
उम्मेदवारी सिफारिस प्रकरणलाई लिएर जिल्लाभर पार्टी कार्यकर्ताबीच व्यापक छलफल र असन्तोष देखिन थालेको छ। नेतृत्वको आगामी निर्णयले पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक एकतामाथि प्रभाव पार्ने विश्लेषण गरिएको छ।
✊ कार्यकर्ताको अपमान अब स्वीकार्य नहुने नेताहरूको चेतावनी छ।




