कतारमा सक्रिय म्याग्दीका युवा पत्रकार तिलु शर्मा पौडेल सम्मानित
दोहा कतार- कतारबाट सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता तिलु शर्मा पौडेल सम्मानित भएका छन्।
वैदेशिक रोजगारीका सिलसिलामा कतारलाई दुई दशक देखी कर्मथलो बनाउँदै सामुदायिक पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार शर्मालाई गत बिहीबार राती रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप), कतारले आफ्नो प्रथम वार्षिकोत्सव विशेष कार्यक्रममा सम्मान गरेको हो। संस्थाले स्थापना कालदेखी आयोजना गरेका हरेक गतिविधिलाई सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न गरेको अतुलनीय योगदानको कदर गर्दै पौडेललाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो।
सम्मान थापेपछि पौडेलले संस्था ठकुरी ग्रुपका सम्पूर्ण कार्यसमिति तथा पदाधिकारी प्रति आभार व्यक्त गर्दै भने,
"यो सम्मानले पत्रकारितामा चल्ने मेरो कलमलाई अझ बलियो बनाउन थप ऊर्जा र हौसला प्रदान गर्नेछ।"
म्याग्दीको बेनीबाट प्रकाशित हुने स्थानीय अनलाइनमार्फत आफ्नो पत्रकारिताको यात्रा सुरु गरेका पौडेल विगत पाँच वर्षदेखि मध्यान्ह राष्ट्रिय दैनिक छापा पत्रिकामा आबद्ध भएर निरन्तर काम गरिरहेका छन्।
कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यासँग सम्बन्धित विषयमा सत्य तथ्य बुझेर लेख्ने पत्रकारहरुको सूचीमा पौडेलको नाम अग्रपङ्क्तिमा आउँछ। उनी नेपाली गीतसङ्गीतमा पनि उत्साहित छन् र थुप्रै गीतहरूमा लगानी समेत गरिसकेका छन्।रासस
