मस्कटमा नेपाल–ओमान आर्थिक साझेदारी कार्यक्रम सम्पन्न, लगानी र निर्यात प्रवर्द्धनमा जोड

आशिक हुसैन शेख     

मस्कट, ओमान- नेपाली राजदूतावास, मस्कटले २४ जुन २०२६ का दिन क्राउन प्लाजा मस्कट होटलमा “समृद्धिका लागि आर्थिक साझेदारी” शीर्षकमा निर्यात, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धनसम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

FB_IMG_1782375136614.jpg

Embassy of Nepal, Muscat द्वारा आयोजित उक्त कार्यक्रममा नेपालबाट निर्यात सम्भावना, लगानीका अवसर, ओमानको श्रम कानुन तथा पर्यटन प्रवर्द्धनबारे विस्तृत जानकारी दिइएको थियो। साथै नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सञ्जाल विस्तार गर्ने उद्देश्य पनि रहेको थियो।

FB_IMG_1782375130088.jpg

कार्यक्रममा १०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा विभिन्न कम्पनी तथा सुपरमार्केटका सीईओ, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी तथा ओमानस्थित नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए।

FB_IMG_1782375122787.jpg

कार्यक्रमको शुभारम्भ महामहिम राजदूत डोरनाथ अर्यालले पानस दीप प्रज्वलन गरी गर्नुभएको थियो। स्वागत मन्तव्यमा उहाँले नेपालमा व्यापार, लगानी र पर्यटनका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई नेपालमा अवसर खोज्न आग्रह गर्नुभयो। उहाँले नेपाललाई भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रको बीचमा रहेको रणनीतिक देशका रूपमा प्रस्तुत गर्दै यस भौगोलिक अवस्थाले व्यापार, लगानी र पर्यटनका लागि ठूलो सम्भावना सिर्जना गरेको बताउनुभयो।

FB_IMG_1782375119455.jpg

राजदूतावासका प्रथम सचिव बिशेष कुमार साहले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक उत्पादनहरू तथा नेपालमा उपलब्ध लगानी अवसरबारे प्रस्तुति दिनुभएको थियो। साथै उहाँले नेपालमा व्यवसाय वा लगानी सुरु गर्ने प्रक्रिया तथा दूतावासको सहजीकरण भूमिकाबारे पनि जानकारी गराउनुभयो।

FB_IMG_1782375115815.jpg

त्यसैगरी अधिवक्ता खवला मोहम्मद अल सुदोनीले ओमानको श्रम कानुन तथा रोजगारदाता–श्रमिकबीचको सम्बन्ध र कानुनी समाधानका उपायबारे प्रस्तुति दिनुभएको थियो।

 

कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई आपसी सहकार्य विस्तार गर्दै व्यापार, लगानी र पर्यटनमा सहकार्य गर्न प्रोत्साहित गरिएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूका लागि नेपाली परिकार मोमो सहितको रात्रिभोजको व्यवस्था गरिएको थियो।

कार्यक्रमको सञ्चालन तथा समन्वय प्रथम सचिव बिशेष कुमार साहले गर्नुभएको थियो।