गल्फ समाज सेवा कतार संस्था द्वारा हवाई टिकटका लागि आर्थिक सहयोग
आशिक हुसेन शेख, दोहा कतार- कतारमा आर्थिक र वैधानिक समस्याका कारण अलपत्र परेका सुनसरी–इनरुवा–६ निवासी विवेक मंसूरीलाई अन्ततः स्वदेश फर्काइएकाे छ। गल्फ समाज सेवा संस्था कतारको पहलमा आवश्यक हवाई टिकटको व्यवस्था गरिएपछि आज (मंगलवार) उनी नेपाल फर्किने भएका छन्।
मंसूरीको उद्धारका लागि टिकट सहयोग उपलब्ध गराएकोमा दोहा ट्राभल एण्ड टूर प्रति संस्थाले आभार व्यक्त गरेको छ। साथै उनलाई विमानस्थलसम्म पुर्याउने कार्यमा सहयोग पुर्याएको भन्दै संस्थाका वरिष्ठ उपाध्यक्ष बशीर अन्सारी,र जैनुद्दिन अंसारी र द्वितीय उपाध्यक्ष रफीक अंसारीलाई पनि धन्यवाद दिइएको छ।
संस्थाले विपद्, संकट वा समस्यामा परेका नेपालीहरूको उद्धारमा सक्रियता बढाउँदै आएको छ। एकता मुस्लिम संगठन र गल्फ समाज सेवा संस्थाले देखाएको सहयोगलाई “उदाहरणीय मानवता” का रूपमा मूल्याङ्कन गरिएको छ।
गल्फ समाज सेवा कतार संस्थाबारे थप जानकारी
गल्फ समाज सेवा कतार संस्था कतारमा कार्यरत नेपालीहरूको हित, संरक्षण र सामाजिक सहयोगका लागि स्थापित एक अग्रणी स्वयंसेवी समूह हो।
यो संस्थाले—
आपतकालिन उद्धार
अस्पताल तथा उपचार सहयोग
वैदेशिक रोजगारीमा परेका समस्याहरूको समाधान
मृतकको दाहसंस्कार तथा शव नेपाल पठाउने समन्वय
आर्थिक रूपमा कमजोर आप्रवासीहरूलाई आकस्मिक आर्थिक सहयोग
सामाजिक तथा सांस्कृतिक गतिविधिहरूको संयोजन जस्ता कार्यहरू निरन्तर गर्दै आएको छ। कतारमा रहेका विपन्न तथा जोखिममा रहेका नेपालीहरूका लागि यो संस्था विगतदेखि नै भरोसाको स्रोत बनेर उभिँदै आएको छ।
