गल्फ समाज सेवा संस्थामा नयाँ कार्यसमिति गठन, मो. गुलाम शेख अध्यक्षमा निर्विरोध चयन
महोत्तरी टुडे, दोहा कतार —
कतारमा रहेका नेपाली मुस्लिम समुदायबीच सहयोग, एकता र सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउँदै आएको गल्फ समाज सेवा संस्था कतारले मिति २०२५ नोभेम्बर २८ (शुक्रबार) सनैया प्लाजास्थित जम्बु थकाली रेस्टुरेन्टको सभा हलमा आफ्नो अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रमको प्रारम्भ : धार्मिक एवं राष्ट्रिय सम्मानको प्रतीक
कार्यक्रम कुरआन तिलावतबाट सुरु भयो। त्यसपछि राष्ट्रिय गान, र बीर शाहिदहरू तथा विदेशमा ज्यान गुमाएका नेपालीहरूका सम्झनामा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।

जेन–जी घटनामा ज्यान गुमाएका व्यक्तिप्रति पनि गहिरो समवेदना व्यक्त गरिएको थियो।
उल्लेखनीय उपस्थिति
अधिवेशनमा सामाजिक अभियन्ताहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, तथा समुदायका सक्रिय सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम निकै उत्साहपूर्ण बनेको थियो।

नयाँ अध्यक्ष : मो. गुलाम शेख रबानी निर्विरोध
अधिवेशनले मो. गुलाम शेख रबानीलाई अध्यक्षमा निर्विरोध चयन गर्दै नयाँ कार्यसमिति घोषणा गर्यो।
नव–निर्वाचित समितिले कतार र नेपाल दुवै क्षेत्रमा संस्थाका समाजसेवी कार्यक्रमहरुलाई अझ विस्तार र प्रभावकारी बनाइने योजना प्रस्तुत गर्यो।

संस्थाको सामाजिक योगदान
गल्फ समाज सेवा संस्थाले कतारमा रहेका
श्रमिक,बिरामी,विपन्न,तथा कागजात समस्यामा परेका नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।
नेपालमा पनि विपन्न तथा पीडित परिवारलाई आर्थिक, सामग्री तथा मानवीय सहयोग उपलब्ध गराउँदै आएको विवरण प्रस्तुत गरिएको थियो।

वक्ताहरूको साझा धारणा
कार्यक्रममा वक्ताहरूद्वारा सामाजिक सेवामा एकता जरुरी रहेको बताउँदै भनियो—
“हाम्रो सेवा हिन्दु–मुस्लिमका लागि होइन, इन्सानियतका लागि हो। संकटमा परेकालाई सहयोग गर्नु नै मानवताको सबैभन्दा ठूलो धर्म हो।”

कार्यक्रममा सामाजिक सेवामा योगदान पुर्याएका सदस्य र सहयोगीहरूलाई सम्मानपूर्वक प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र वितरणको क्रममा उपस्थित सबैलाई खाँदा लगाएर सम्मान गर्ने परम्परा अपनाइएको थियो, जसले कार्यक्रममा औपचारिकता र उत्साह दुवै थपेको थियो।

संस्थाका अध्यक्ष मो. गुलाम शेख रबानीले सामाजिक सेवामा सक्रियता देखाउने सबै सदस्यलाई आभार व्यक्त गर्दै भविष्यमा अझ सक्रिय रहन प्रेरित गरे। उनले भने—

“सामाजिक सेवामा योगदान पुर्याउने हरेक प्रयास सम्मानयोग्य छ। यस्तो कार्यले मात्र हाम्रो समुदाय र समाजमा एकता, सहयोग र इन्सानियतको भावना बलियो बनाउँछ भन्दै समापन गरे।

प्रधानमन्त्री सुशीला कार्कीको विवादास्पद अभिव्यक्ति विषयक छलफल
अधिवेशनको क्रममा हालै सामाजिक सञ्जालमा चर्चामा रहेको प्रधानमन्त्री सुशीला कार्कीद्वारा मुस्लिम समुदायसम्बन्धी व्यक्त गरिएको भनिएको अभिव्यक्तिबारे पनि विशेष छलफल भयो।

सामाजिक अभियन्ता, संघ–संस्थाका प्रतिनिधि तथा उपस्थित सदस्यहरूले उक्त अभिव्यक्तिले मुस्लिम समुदायको सम्मानमा चोट पुर्याएको भन्दै गम्भीर चासो व्यक्त गरे।

चार बुँदे मागपत्र
संस्थाले प्रधानमन्त्रीलाई सम्बोधन गरी यथास्थान एक औपचारिक मागपत्र प्रस्तुत गर्यो, जसमा प्रमुख बुँदाहरू यसप्रकार छन्,
१. उक्त भिडियो वा अभिव्यक्ति वास्तविक हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले तात्कालिक सार्वजनिक स्पष्टीकरण दिनु।
२. यदि अभिव्यक्ति वास्तविक प्रमाणित भएमा मुस्लिम समुदाय र सम्पूर्ण नेपाली जनतासँग आधिकारिक क्षमायाचना गर्ने।
३. भविष्यमा कुनै पनि जाति, धर्म, भाषा वा समुदायप्रति अपमानजनक वा विभाजनकारी अभिव्यक्ति नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनु।
४. धार्मिक सहअस्तित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सरकारले ठोस तथा जिम्मेवार कदम चाल्नु।

मागपत्रमा थप भनिएको छ,
नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो। प्रधानमन्त्रीको पदमा बसेका व्यक्तिको हरेक अभिव्यक्ति राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउनुपर्ने हुन्छ।

त्यसै क्रममा, सामाजिक अभियन्ता मो. रफिकले दहेज मुक्त अभियानको विषयमा विशेष प्रकाश पारे। उनले समुदायलाई चेतना दिलाउँदै भने—
“हामी दहेज र अन्य परम्परागत बन्धनबाट मुक्त समाजको पक्षमा उभिएका छौँ। दहेजविरुद्धको अभियानले मात्र होइन, हाम्रा बच्चा–बच्चीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने हाम्रो जिम्मेवारी हो।

नयाँ कार्यसमिति तथा संरचना
संस्थापक अध्यक्षज्यू
मो. अब्दुल मन्नान हुसैन
मो. जमशेद राइन
मो. सद्दाम हुसैन
संरक्षण अध्यक्ष
मो. अजिजुल नदाफ
नव–निर्वाचित कार्यसमिति
अध्यक्ष : मो. गुलाम शेख रब्बानी
वरिष्ठ उपाध्यक्ष : मो. बसरुद्दीन अंसारी
उपाध्यक्ष : मो. अहमद रेजा
महासचिव : मो. जैनुद्दीन अंसारी
सचिव : मो. अब्दुल रजाक
कोषाध्यक्ष : मो. जलालुद्दिन राइन
सह–कोषाध्यक्ष : मो. सद्दाम नदाफ
कार्यसमिति सदस्य
मो. मुबारक राइन
मो. साकिम राइन
मो. नुर मोहम्मद
मो. नौसाद अंसारी
सल्लाहकार समिति
वरिष्ठ सल्लाहकार : मो. साकिर अली
सल्लाहकार : मो. मकबुल आलम
सल्लाहकार : मो. राजाबुल राइन
मिडिया निर्देशक समिति
मो. राईसुद्दिन मिया
मो. हैदर अली
मो. हुसेन शेख
