कतारमा NRNA पूर्व अध्यक्षसँग समसामयिक विषय, सामाजिक सुरक्षा कोष र लगानीबारे विशेष अन्तरक्रिया कार्यक्रम हुँदै

महोत्तरी टुडे     

आशिक हुसैन,दोहा, कतार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA NCC Qatar) ले NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) का पूर्व अध्यक्षसँग संगठनका समसामयिक मुद्दा, सामाजिक सुरक्षा कोषको प्रभावकारी उपयोग, तथा अन्तर्राष्ट्रिय लगानीका अवसरबारे विशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।

यस सम्बन्धमा NCC Qatar का महासचिव बिबेक पुलामी मगरले एक सूचनामार्फत कतारमा आवद्ध विभिन्न समाजिक, पेशागत तथा सांस्कृतिक संस्थाका प्रमुख, प्रतिनिधि तथा दिगो सामाजिक योगदान गर्दै आएका अभियन्ता, व्यवसायी, खेलाडी, कलाकार, सञ्चारकर्मीहरुलाई उपस्थितिकाका लागि हार्दिक अनुरोध गरेका छन्।

समसामयिक मुद्दामा खुला छलफल

सङ्घले पछिल्ला वर्षहरूमा उठाइरहेको अधिकार, हितरक्षा, नीतिगत स्पष्टता तथा संगठनभित्रका व्यवस्थापकीय सुधार जस्ता विषयहरू कार्यक्रमको मूल एजेन्डा हुने जनाइएको छ। विशेष गरी सामाजिक सुरक्षा कोष (Social Security Fund) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको पहुँच, प्रक्रिया, फाइदा तथा व्यवहारिक चुनौतीबारे विस्तृत प्रस्तुति र खुला छलफल हुने अपेक्षा गरिएको छ।

साथै, विदेशमा रहेका नेपालीहरूले कसरी सुरक्षित र सुनिश्चित लगानी गर्न सक्ने, नेपालमा लगानीमैत्री वातावरणका सम्भावना तथा अवरोध र त्यसका समाधानबारे पनि मार्गदर्शन तथा कुराकानी हुनेछ।

विदेशस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने उद्देश्य

कार्यक्रमले कतारमा आवद्ध विभिन्न संघ–संस्था र व्यक्तिहरूबीच आपसी समन्वय, सहकार्य र सूचना आदान–प्रदानलाई थप मजबूत बनाउने विश्वास गरिएको छ।

NCC Qatar ले बारम्बार सार्वजनिक प्रतिवद्धता जनाउँदै आएको—विदेशमा रहेका नेपालीको हित संरक्षण, समस्याको समाधान र नेपालको विकास प्रक्रियामा उनीहरूको भूमिकालाई संस्थागत रूपमा मजबुत बनाउने लक्ष्य—यस कार्यक्रममा पुनः केन्द्रित हुने बताइएको छ।

कार्यक्रम विवरण

समय: बेलुका ७:०० बजेदेखि

स्थान: गोर्खाली रेष्टुरेन्ट, मुम्ताजा

मिति: २१ नोभेम्बर २०२५, शुक्रबार

कार्यक्रममा NRNA प्रति चासो राख्ने तथा समुदायको हितका लागि सक्रिय सबैलाई उपस्थित भई सुझाव, अनुभव र विचार राखिदिन आयोजकले अनुरोध गरेको छ।