वडा अध्यक्ष बिन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु
धर्मेन्द्र कुमार यादव-महोत्तरी टुडे,
मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष बिन्देश्वर यादवको आपसी विवादका क्रममा गोली प्रहार गरी हत्या गरिएको छ। छातीमा लागेको गोलीका कारण गम्भीर घाइते बनेका वडा अध्यक्ष यादवको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन्।
घटनास्थलमा उपस्थित स्रोतहरूले बताए अनुसार विवाद सामान्य झैँ देखिए पनि एकाएक स्थिति तनावपूर्ण बन्दै गएपछि विदामा घर आएका एक प्रहरी हबल्दारद्वारा गोली चलाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामकृष्ण बमले महोत्तरी टुडेसँग कुरा गर्दै भने,
“मृत्यु संस्कारमा गएका बेला दुई पक्षबीच विवाद भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यही क्रममा अर्को पक्षले वडा अध्यक्ष यादवमाथि गोली प्रहार गरेको सूचना आएको छ। घटनाको गम्भीर छानबिन भइरहेको छ।”
घटनापछि सुरक्षाकर्मी तैनाथी बढाइएको छ भने गोली प्रहारमा संलग्न व्यक्तिमाथि प्रहरीले अनुसन्धान तथा पक्राउ प्रक्रिया तीव्र पारेको जनाएको छ।
वडा अध्यक्ष बिन्देश्वर यादवको आकस्मिक निधनपछि मिथिला बिहारी नगरपालिका तथा सम्पूर्ण धनुषा जिल्लामा शोकको माहोल छ।
