एक मात्र दुर्गा स्थल खेश्राहामा गा.पा अध्यक्ष द्वारा भव्य कपडा वितरण कार्यक्रम सम्पन्न
धर्मेन्द्र कुमार यादव – महोत्तरी।
सोनमा गाउँपालिका–४ खेश्राहा अवस्थित गाउँपालिकाभरीको एक मात्र दुर्गा स्थलमा विशेष धार्मिक कार्यक्रम तथा वितरण समारोह सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा व्रतालु महिला, पुरुष तथा कुमारी कन्याहरुलाई लत्ताकपडा र झुल वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवको पहलमा सम्पन्न कार्यक्रममा व्रतालु महिलाहरुलाई एक सेट सारी र एक थान झुल, पुरुषहरुलाई लुङी, गन्जी र गम्छा, तथा कुमारी कन्याहरुलाई एक/एक थान सुट र झुल प्रदान गरिएको थियो। सो कार्यक्रममार्फत करिब ३०० जनाभन्दा बढी भक्तजन लाभान्वित भएका छन्।

धार्मिक आस्था र सामाजिक एकताको प्रतीकस्वरूप आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले स्थानीय दुर्गा स्थललाई थप व्यवस्थित बनाउँदै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भने, “धार्मिक स्थलको संरक्षण र भक्तजनलाई प्रोत्साहन गर्नु हाम्रो साझा जिम्मेवारी हो, यसले गाउँपालिकामा आपसी एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउँछ।”

उक्त कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष मिठु रायलगायत जनप्रतिनिधि, सामाजिक अगुवा, महिला समूहका सदस्य तथा हजारौँ भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय दुर्गा स्थल व्यवस्थापन समिति र स्वयंसेवक युवाहरुको सक्रियतामा सम्पन्न कार्यक्रममा धार्मिक अनुष्ठान, भजन–कीर्तन र सामूहिक प्रार्थनासमेत गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन स्थानीय महिला समूह, युवाहरु र समितिको विशेष योगदान रहेको आयोजकले जनाएको छ।




