एनआरएन कतारद्वारा ११औं राष्ट्रिय अधिवेशन–२०२५का लागि औपचारिक निमन्त्रणा, कार्यक्रम १ अगस्तमा दोहामा
दोहा, कतार – साउन १६, २०८२
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (एनआरएन) ले आयोजना गर्न लागेको ११औं राष्ट्रिय अधिवेशन–२०२५ का लागि सम्पूर्ण पंजीकृत सदस्यहरूलाई औपचारिक निमन्त्रणा जारी गरेको छ।
कार्यक्रम आगामी १ अगस्त २०२५, शुक्रबारका दिन, दिउँसो १ बजे देखि क्राउन प्लाजा नजमा, दोहा, कतार मा आयोजना हुने जानकारी दिइएको छ।
संघले जारी गरेको निमन्त्रणा सन्देशमा भनिएको छ:
"आदरणीय सम्पूर्ण पंजीकृत सदस्यज्यूहरू, हामी तपाईंलाई ११औं राष्ट्रिय अधिवेशन–२०२५ मा हार्दिक निमन्त्रणा गर्दछौं। तपाईंको गरिमामय उपस्थितिले यस अधिवेशनलाई अझ सफल, उत्साहजनक र ऐतिहासिक बनाउनेछ।"
एनआरएन कतारका अनुसार अधिवेशनमा संगठनात्मक सुदृढीकरण, नीतिगत विषयमा छलफल, नयाँ योजना, नीति निर्माण तथा भावी रणनीतिमाथि विशेष विचारविमर्श गरिनेछ।
कार्यक्रमलाई भव्य बनाउने उद्देश्यले व्यापक तयारी भइरहेको जनाइएको छ। साथै, सबै सदस्यहरूलाई समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन विशेष अनुरोध गरिएको छ।
