जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन ११ जुलाईमा हुने
दोहा, कतार –
जय माँ जानकी समाज सेवा कतारले आगामी ११ जुलाई २०२५ मा दोस्रो महाधिवेशन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम एसियन टाउन, सनैया स्थित लालिगुराँस रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी समाजका कोषाध्यक्ष लालबाबु साहले दिएका छन्। उनका अनुसार, महाधिवेशनलाई भव्य र सफल बनाउन समाजका पदाधिकारीहरू, सदस्यहरू तथा स्वयंसेवकहरू जुटिरहेका छन्।
"दहेजमुक्त मिथिला – अपन सबहक अभियान, बेटा–बेटी एक समान" भन्ने मूल नाराका साथ जय माँ जानकी समाज सेवा कतारको स्थापना सन् २०२० मा गरिएको थियो। समाजले यसअघि पनि विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यहरू गर्दै आएको छ।
महाधिवेशनमा समाजको विगत चार वर्षको कार्य सम्पादनको समीक्षा, आगामी योजना र कार्यक्रमहरू प्रस्तुत गरिनेछ। साथै, समाजिक एकता, महिला सशक्तिकरण, शिक्षा तथा स्वास्थ्यमा केन्द्रित विविध सन्देशमूलक प्रस्तुतिहरू पनि समावेश गरिने जनाइएको छ।
क्यूएसटी ट्रेनिङ एण्ड कन्सल्टेन्सी कतारको प्रबन्ध निर्देशक श्रीमती यास्मिन नाज़ को प्रमुख अतिथि रहनेछ।
कार्यक्रममा कतारमा बसोबास गर्ने मधेसी, मैथिली तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
