रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

महोत्तरी टुडे      

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा दायर गरेको गरेको बन्दी प्रत्यक्षकरणको रिटमा सुनुवाइ हुन लागेको हो ।

 

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।

 

उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यसअघि कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो । उक्त आदेशपछिको सुनवाइ नहुँदै रविका तर्फबाट श्रीमती निकिताले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

 

रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ। थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।

 

तर जन्मकैद वा १० वर्ष वा सोभन्दा बढी कैद सजाय हुन सक्ने कसुरमा भएको थुनछेकको आदेश वेरीत भएको प्रश्नमा एक तहभन्दा माथिको पुनरावेदन सुन्ने अदालतमा पनि निवेदन दिन सकिने व्यवस्था छ ।