आदिल आलमले छाडे मधेश प्रदेश, अब नेपाल आर्मीबाट क्रिकेट खेल्ने
काठमाडौं। नेपाली क्रिकेटर मोहम्मद आदिल आलमले अब मधेश प्रदेशको प्रतिनिधित्व नगरी नेपाल आर्मी क्रिकेट टोलीबाट खेल्ने घोषणा गरेका छन्।
आदिलले सामाजिक सञ्जालमार्फत आफ्नो क्रिकेट करियरको महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै मधेश प्रदेशबाट खेल्ने क्रममा आफूलाई प्राप्त माया, विश्वास, सम्मान र साथप्रति समर्थक, शुभचिन्तक तथा सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्।
यसैबीच, अनिल शाहको कप्तानीमा सोमबार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि घोषणा गरिएको मधेश प्रदेशको क्रिकेट टोलीमा आदिल आलमको नाम समावेश गरिएको छैन। मधेश प्रदेशको टोलीमा उनको अनुपस्थितिलाई पनि चासोका साथ हेरिएको छ।
दशौँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशको टोली
अनिल शाह (कप्तान), पवन सर्राफ, अरनिको यादव, रञ्जित कुमार, विशाल सुशलिङ (उपकप्तान), मयान यादव, अभिषेक तिवारी, शैलेन्द्र शाह, विशाल पटेल, रुपेश सिंह, विवेक यादव, अमित यादव, राकेश कामत, सन्तोष कार्की र संसाद अलि मन्सुरी।
मधेश प्रदेशबाट क्रिकेट यात्रा अघि बढाएका आदिल अब नेपाल आर्मीबाट नयाँ यात्रा सुरु गर्ने तयारीमा छन्। उनको यस निर्णयसँगै आगामी प्रतियोगितामा नेपाल आर्मीबाट उनको प्रदर्शन कस्तो रहनेछ भन्ने विषय क्रिकेट समर्थकहरूका लागि चासोको विषय बनेको छ।
