कोशी प्रदेश समन्वय परिषद् कतारको पाँचौँ अधिवेशन २७ नोभेम्बरमा, नयाँ नेतृत्व चयनको तयारी तीव्र

आशिक हुसैन शेख     

दोहा, कतार । कतारमा स्थापित कोशी प्रदेश समन्वय परिषद् कतारले आफ्नो पाँचौँ अधिवेशन तथा नवौँ स्थापना दिवसको तयारीलाई तीव्रता दिएको छ। परिषद् तथा मातहतमा आबद्ध विभिन्न जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा आगामी २७ नोभेम्बर २०२६ मा आयोजना हुन लागेको अधिवेशन तथा स्थापना दिवसलाई सफल बनाउन आवश्यक तयारी अघि बढाइएको परिषद्ले जनाएको छ।

परिषद्का अध्यक्ष रुद्र शर्माका अनुसार कतारमा कार्यरत कोशी प्रदेशका नेपाली श्रमिकहरूको हकहित, अधिकार र संरक्षणका साथै उनीहरूले भोग्दै आएका विभिन्न समस्याको समाधानका लागि परिषद्ले कतारमा क्रियाशील नेपाली संघसंस्थासँग समन्वय र सहकार्य गर्दै आएको छ।

अधिवेशनले कतारमा रहेका नेपाली समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने सक्षम, जिम्मेवार र प्रतिबद्ध नयाँ नेतृत्व चयन गर्ने उद्देश्य राखेको अध्यक्ष शर्माले बताएका छन्। नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्ययोजना, प्राथमिकता र गतिविधिलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए।

त्यसैगरी, कतारमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी एकता, सहकार्य र सामाजिक सेवाका गतिविधिलाई विस्तार गर्ने परिषद्को लक्ष्य रहेको छ। अधिवेशनले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

अधिवेशन तथा स्थापना दिवस कार्यक्रममा कतारस्थित नेपाली समुदायका प्रतिनिधि, विभिन्न प्रदेश समन्वय परिषद्का पदाधिकारी, जिल्ला संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार तथा पत्रकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कतारको प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टको सभाहलमा आयोजना हुने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ।

परिषद्ले कतारमा रहेका सम्पूर्ण कोशी प्रदेशवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई पाँचौँ अधिवेशन तथा नवौँ स्थापना दिवस सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ।

नयाँ नेतृत्व चयन, संस्थागत एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षासहित परिषद् अधिवेशनको अन्तिम तयारीमा जुटेको छ।